रिपोर्टबुधबार, १५ भाद्र , २०७३

ट्याक्सी जलाउने नेतालाई चालकले भेट्दा

सृजना श्रेष्ठ

 

चित्रबहादुर खत्री (बायाँ), जसको ट्याक्सी चन्द नेतृत्वको माओवादीको बन्दका बेला जलाइयो, ट्याक्सी जलाउने आरोपीमध्येका नविन बिष्ट (बीचमा) र भानु आचार्य (दायाँ) । तस्वीर: सृजना श्रेष्ठ

गाडीमा आगो लगाएर ‘जीविका’ नै खोसिदिने माओवादी नेतालाई भेटन पुगेका चालकले ‘अस्वीकृति’ बाहेक केही पाएनन् ।

१० साउनको बिहान पनि भइसकेको थिएन ट्याक्सी चालक चित्रबहादुर खत्री घर फर्कंदै थिए । नयाँ बानेश्वर पुग्दा पाँच जनाले उनको ट्याक्सी रोके । केसी ड्राइभर सिटमै थिए, त्यसैबेला पेट्रोल बम प्रहार भयो । उनी ट्याक्सीबाट बाहिर निक्लन त सके तर दन्केकोे आगोले ट्याक्सी उनकै अगाडि भष्म भयो ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बन्द आह्वान गरेकोले ट्याक्सी थन्काउने विचारले उनी राति ३ः४५ बजे नै घरतर्फ लागेका थिए तर, बाटोमै क्रान्तिकारीले ट्याक्सी जलाएर ‘क्रान्ती’ देखाए ।

एक हप्ताको प्रयासपछि ट्याक्सीमा आगो लगाएका आरोपीसँग खत्रीको भेटघाट तय भयो । चन्द माओवादी सम्बद्ध अखिल नेपाल सञ्चार, छापाखाना तथा प्रकाशन मजदुर संघ (क्रान्तिकारी) को नयाँ बानेश्वरस्थित कार्यालयमा पुग्दा १९ वर्षीय खत्री केही ‘नर्भस’ देखिन्थे ।

ट्याक्सीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका नविन बिष्ट र भानु आचार्यसँग भेट भयो, उनीहरु अली व्यग्र देखिन्थे । काठमाडौं जिल्ला अदालतले दुबैलाई रु ५० हजार धरौटीमा रिहा गरेको थियो । खत्रीले आफू कसरी त्यही ट्याक्सीमा जल्नबाट जोगिएँ भनेर सुनाउँदै गर्दा खत्री र बिष्टले आपसमा हेराहेर गरे । खत्री आक्रोशमा आएनन् उनले क्षतिपूर्तिका लागि आग्रह गरिरहे ।

बिष्ट र आचार्यले ट्याक्सीमा आगजनीको घटनासँग आफ्नो कुनै संलग्नता नरहेको र सवारी साधनमा क्षति पुर्‍याउने पार्टी नीति पनि नभएको भन्दै पञ्छिन खोजे । बिष्टले त उनको दल गरीब र मजदुरका लागि कसरी संघर्ष गरिरहेको छ भन्ने बारे सानोे भाषण पनि दिए ।

यो भेट खत्रीले सोचे जस्तो भएन । उनले माओवादीबाट घटना र क्षतिपूर्तिबारे अस्वीकृति पाए । घटनामा संलग्नता अस्वीकार गरेको माओवादीले माफी माग्ने कुरै भएन तर खत्रीको ट्याक्सी जल्नुमा दुख समेत व्यक्त गरेन । खत्री बिदा हुँदै गर्दा आचार्यले उनको फोन नम्बर मागे, ‘यदि पार्टीले क्षतिपूर्ति दिने भएछ भने’ भन्दै । तर उनको बोलीमा प्रतिवद्धता थिएन ।

दुखमात्रै
नेपालका राजनीतिक दलहरुले बन्द आह्वान गरेको दिन सबेरै दुई–चारवटा सवारी साधन तोडफोड र आगजनी गर्ने उनीहरुको घोषित रणनीति जस्तै बनिसकेको छ ।

बस, ट्याक्सी र मोटरसाइकल जलाइएका समाचार बिहानै एफएम र अनलाईनमा प्रशारण भएपछि फैलिने आतंकले अरु गाडीहरु सडकमा आउँदैनन, पसल खुल्दैनन र साँझ बन्द फिर्ता भएपछि ‘बन्द सफल भयो’ भन्न पाइन्छ ।

यस्तो बन्द र हडतालमा हुने आगजनी, तोडफोड र जनताले पाउने सास्तीको हिसाबै छैन तर, राष्ट्रिय अर्थतन्त्रमा मात्रै करिब रु २ अर्बको नोक्सान हुने अनुमान छ । गएको ८ महिना यतामात्रै चन्द माओवादीले ६ दिन बन्द गराइसकेको छ ।

नयाँ बानेश्वरमा आफ्नो जलेको ट्याक्सीसँगै चालक चित्रबहादुर खत्री । 

लाखौं नेपाली युवाजस्तै चित्रबहादुर खत्री पनि शुरुमा बैदेशिक रोजगारीमा जान चाहन्थे । तर, पछि उनको मन बदलियो । काठमाडौंका सडकमै आफ्नो भविष्य खोज्न धनुषाबाट आइपुगेका खत्रीले ट्याक्सी चलाउन थाले ।

सेकेन्ड ह्यान्ड मारुती ट्याक्सी किन्नमात्रै नौ लाख ऋण लाग्यो । ऋणको किस्ता बुझाएर बचेको पैसा उनले घर पठाउनु पर्थ्यो– आफ्नो खर्च कटाएर ।

रातदिन मेहनत गर्ने खत्री त्यसदिन माओवादीको बन्द छ भन्ने थाहा पाएरै राति ३ः४५ बजे ट्याक्सी थन्काउन घरतर्फ लागेका थिए । तर, बन्दको दिन शुरु हुन नपाउँदै उनको ट्याक्सी जलाइयो ‘क्रान्तिकारी’द्वारा

“पेट्रोल बम हानेपछि उनीहरु भागिहाले, म बल्लतल्ल निस्किएँ र बाँचे,” खत्री भन्छन् । त्यसको दुई महिनापछि मात्रै हो उनकै ट्याक्सी जलाएको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएकाहरुसँग खत्रीको भेट गराइएको ।

क्रान्तिकारीको कार्यालय नजिकै छ ट्याक्सी जलाइएको ठाउँ । कार्यालयमा नविन बिष्ट र भानु आचार्य केही अधीर देखिन्थे तर, उनीहरुले नम्रता पूर्वक खत्री र उनका काकालाई बस्न भने ।

खत्री कुरा गर्ने ‘मुड’ मा थिएनन्, आँखा नजुधाएरै उनले जल्दै गरेको ट्याक्सीबाट बल्लतल्ल जोगिएर बाँचेको कुरा सुनाए । बिष्ट र आचार्यले आगजनीको घटनामा आफ्नो संलग्नता नरहेको दोहोर्‍याइरहे । कुनै दुख व्यक्त गरेनन्, र आफूलाई ‘यसै’ प्रहरीले पक्राउ गरेको बताए ।

“तपाइँको ट्याक्सीमा कसले कसरी आगो लगायो हामीलाई थाहा छैन,” बिष्टले खत्रीलाई भने, “प्रहरीले यसै हामीलाई सडकबाट समात्यो र यातना दियो ।” सवारी साधनमा क्षति पुर्‍याउने पार्टी नीति नरहेको उनले फेरि दोहोर्‍याए ।

यो सुनिरहँदा खत्रीको अनुहार भावहिन थियो, उनी बहस गर्न चाहँदैनथे । आफूले केही क्षतिपूर्ति पाउन सक्छु कि भन्ने मात्रै उनको चासो थियो ।

“अब चार वर्षभित्र सबै ऋण तिरेर नयाँ ट्याक्सी किन्छु भन्ने सोच थियो,” खत्रीले उनीहरुलाई सुनाए, “तपाइँहरुको पार्टी वा सरकारबाट क्षतिपूर्ति पाइन्छ कि भनेर पर्खनुभन्दा अर्को विकल्पै भएन मसँग, त्यत्रो ऋण कसरी तिर्नु, कसरी बाँच्ने केही सोच्नै सकेको छैन ।”

एक वर्षअघि माओवादीले ट्याक्सी जलाइदिएपछि बेरोजगार भएका राकेश तामाङ् गोंगबुस्थित डेरामा । 

नयाँ बानेश्वरको प्रहरी चौकीबाट जलेको गाडी खत्रीले निकाले पनि त्यो मर्मत गर्न लाग्ने रकम रु ५ लाख उनीसँग छैन । “पुरानै ऋण त्यत्रो बाँकी छ, अब थप कहाँबाट खोज्नु” उनी भन्छन् ।

गत वर्ष दलहरु नयाँ संविधान जारी गर्न सहमत भएकै दिन ३३ वर्षीय राकेश तामाङको ट्याक्सी पनि चन्द माओवादीले जलाएको थियो ।

“बन्द भनेर के गर्नु, परिवार पाल्नै पर्‍यो, ऋण तिर्नै पर्‍यो” तामाङ भन्छन, “बन्दले हामीलाई खान दिँदैन, त्यसैले ट्याक्सी निकालेको थिएँ, तर जलाइदिए ।”

क्षतिपूर्तिका लागि सरकारी कार्यालय धाउँदा धाउँदै तामाङको चप्पल खिइसक्यो तर, न क्षतिपूर्ति पाए न त आगजनी गर्नेहरु नै पक्राउ परे ।

“ज्युँदो देखिए पनि म भित्रभित्रै मरिसकेको छु,” तामाङ भन्छन, “मेरो दिमागले कामै गर्दैन, परिवार पाल्न समस्या छ, त्यसमाथि ऋण ।”

तर, गरीब र मजदुरका लागि संघर्ष गरिरहेको भनेर नथाक्ने पार्टीले खत्री र तामाङ जस्तालाई न त क्षतिपूर्ति दिन्छ न माफी नै माग्छ न ट्याक्सी जलाएर 'क्रान्ती' गर्न नै छोड्छ ।

 

 

प्रतिकृया दिनुहोस