चुनावको बिथोल्ने तत्व आफै सिद्धिन्छन्: उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश अहिले चुनावको मूडमा रहेकोले त्यसलाई बिथोल्न खोज्ने तत्वहरु सिद्धिने चेतावनी दिएका छन् ।
गोला बारुदभन्दा 'ब्यालेट' शक्तिशाली भएको भन्दै अध्यक्ष यादवले लगातारको आन्दोलन मात्रैले पनि निकाश नदिने भएकोले चुनावलाई पनि संघर्षकै रुपमा लिइनु पर्ने सुझाव दिएका छन् ।
रुपन्देहीको धकधईमा १२ जेठमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले भने, "संसारमा धेरै घटनाले पुष्टि गरिसकेको छ । गोला बारुद र तोपभन्दा निर्वाचन शक्तिशाली हुन्छ । मधेशले पनि ब्यालेटको पावरलाई सदुपयोग गर्नु पर्दछ ।"
३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनलाई उपयोग गर्न मतदातालाई आग्रह गर्दै यादवले भने, " निर्वाचन हुनैपर्छ, निर्वाचनमार्फत जनताले आफ्नो अभिमत जाहेर गर्न पाउँछन् ।"
उक्त अवसरमा विभिन्न दलका कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका थिए ।