साझा पार्टीको प्रवक्तामा आचार्य नियुक्त
केन्द्रीय संयोजन समितिका सदस्य डा. सुर्यराज आचार्यलाई साझा पार्टीले प्रवक्तामा नियुक्त गरेको छ ।
चितवनको भरतपुर महानगरपालिकाका आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन् । थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन् ।
चार वर्षअघि नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए ।
पेशागत जीवनको शुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन् ।