विद्यालय जाँदै गरेकी छात्राको बसले किचेर मृत्यु
वीरगञ्जको महावीरस्थान नजिकै आज बिहान स्कुलबसको ठक्करले विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएको छ ।
आज, ८ जेठ विहान करिब ८ बजे कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले वीरगञ्जस्थित दिल्ली पब्लिक स्कुलकी कक्षा ९ की छात्रा दीया अग्रवाललाई बाटो काट्दै गरेका बेला ठककर दिएपछि उनको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।
ठक्करबाट घाईते भएकी दियालाई चालकले बस ब्याक गरेर किचेको प्रत्यक्षदर्शी र दियाका आफन्तहरुले दाबी गरेका छन् ।
घटनापछि अहिले स्थानीय निकै आक्रोशित भएका छन् । उनीहरुले प्रहरी र बसका चालक विरुद्ध नाराबाजी समेत गरेका छन् ।
चालकले मादक पदार्थ सेवन गरेको र सवारी चालक अनुमति पत्र समेत नभएको भन्दै स्थानीयले चिकित्सक बोलाएर मापसे जाँच गराउनुपर्ने माग राखेका छन् ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि चालकलाई बसबाट बाहिर निकाल्न लाग्दा आक्रोशित स्थानीयले आक्रमण गर्न खोजेपछि सामान्य झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक जना घाईते भएका छन् ।
घटनास्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।
नेपाल विद्यार्थी संघले घटनाको निन्दा गर्दै शोकमा भोलि एक दिन पर्सा जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गरेको छ ।
सुरेश बिडारी, वीरगञ्ज