थप समाचारबुधबार, १५ भाद्र , २०७३

बलात्कारीलाई १६ वर्ष कैद

हिमालखबर


१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले १६ वर्ष कैद सजायको फैसला सुनाएको छ । 

न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर र सोही महलको ३ (२) बमोजिम आठवर्ष कैदको सजाय सुनाएको हो । 

सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बरबमोजिम तीनवर्ष गरी १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । 

अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको अदालतका स्रेस्तेदार भट्टराईले जानकारी दिए । कसुरदार सुरेनले ती बालिकालाई २०७० साल यता पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गतबर्ष फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रतिकृया दिनुहोस