बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
माओवादीले सञ्चालन गरेको दश वर्षे युद्धमा बेपत्ता र घाइतेका आफन्त अझै पनि हराएका आफन्तलाई सम्झँदै रुन विवस छन्, आफन्त अझै पनि फर्केर आउँछन् कि भन्ने उनीहरुको आशा मरेको छैन ।
“युद्धकालमा भएका मानवीय क्षतिसँगै भौतिक संरचना ध्वस्त भएको विवरण हेर्दा कसको पो मन रुँदैन र ? वास्तविक द्वन्द्वपीडितभन्दा अरूले सेवासुविधा पाउँदा हुँदै नभएका मानिसको नाममा राहत आउँदा पीडित झनै पीडित भएका छन्”, सक्लाका नरबहादुर गौतमले वताए ।
माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेको आरोपमा भेरीमालिका–१ कालेगाउँका दीपक बटालालाई प्रहरीले बेपत्ता बनायो । बटालाकी ६५ वर्षीया आमा चनमती बटाला छोरो कतैबाट आउँछ कि भनेर मूलबाटो हेर्न लागेको १८ वर्ष बित्यो । १८ वर्षसम्म दीपकको अत्तोपत्तो नहुँदा पूरै परिवार तथा आफन्तको आँखाबाट आँसु झर्न छोडेको छैन । छोरा सपनामा घर आएको देख्दा सधैँ राति निदाएको बेला छोरा, छोरा भन्दै कराउने बानी नै बसेको छ ।
त्यस्तै, भेरीमालिका–१ कै माओवादी केन्द्र जाजरकोटका संयोजक पिपेका ढकवीर रानाले पनि आफ्ना बेपत्ता छोराका बारेमा यथार्थ पत्ता नलागेको भन्दै तत्काल राज्यले सत्यतथ्य पत्ता लगाई उचित सूचना दिनुपर्ने बताउनुभयो । ढकवीरका छोरा गुमानसिंह रानालाई २०५६ सालमा माओवादी आरोपमा सुर्खेतमा पक्राउ गरी बेपत्ता पारिएको थियो ।
यहाँका ११ जनालाई बेपत्ता बनाए पनि अहिलेसम्म यथार्थ विवरण बाहिर नआउँदा आफन्त बेखबर बनेका छन् । राज्यले द्वन्द्वकालमा मारिएका परिवारका सन्ततिलाई १८ वर्षसम्म मात्र छात्रवृत्ति दिइँदै आएकामा पढ्दासम्म छात्रवृत्ति दिने व्यवस्था गरिदिएको भए द्वन्द्वको घाउ थोरै भएपनि कम हुने आशा पीडितको छ ।
सबै सहिद परिवारलाई १० लाख रुपैयाँ दिने भनिएपनि पाँच लाखसम्म मात्र पाएको भन्दै राज्यले विभेद गरेको खगेनकोट–५ का अने कामीले वताए ।
भेरीमालिका–१ को बडालेख र उब्जेलेख लगायतका दर्जन ठाउँमा प्रहरी र सेनाले हवाई आक्रमण गरी जनताका घर, टहरा आगजनी गरेपनि अहिलेसम्म क्षतिपूर्ति नभएको स्थानीयवासीले बताएका छन् ।
२०५४ सालमा माओवादीको आश्रयस्थल भएको भनेर ६४ घरगोठ आगो लगाएर जलाएको स्थानीयवासी भेजी रानाले बताए । जाजरकोटमा ११ जना बेपत्ता छन् भने ३५६ जनाको मृत्यु भएको थियो । घाइतेको सङ्ख्या अझै यकिन हुन सकेको छैन । दलैपिच्छे घाइतेको विवरण फरक छ । रासस