नाजायज मागमा संविधान संशोधन हुँदैनः प्रदीप ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेशी मोर्चाका जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान संशोधन गर्न आवश्यक नरहेको दाबी गरेका छन् ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताए ।
मधेशी मोर्चाले राखेको संविधान संशोधनको माग मधेशी जनताको माग नभएको जिकिर गर्दै उनले अब फेरि संविधान संशोधन गर्नु गलत रहेको बताए ।
संविधान संशोधनका लागि नेपाली भूमिमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेशी जनताको माग नभई केही नेताकै माग भएको उनको तर्क थियो ।
विगतमै तीनै निर्वाचनको मिति तय भए पनि वर्तमान सरकारमा रहेको गठबन्धन विभिन्न बहानाबाजी गरी निर्वाचन नगर्ने खेलमा लागेको उनको आरोप छ ।
निर्वाचन पर धकेल्दै संविधान कार्यान्यवन समेत नगर्ने षड्यन्त्र भइरहेको आशङ्का उनले प्रकट गरे । ओली नेतृत्वको सरकारले गरेका काम र निर्णयलाई वर्तमान सरकारले उल्टाउँदा राजनीतिक दलबीचको दूरी बढ्ने र राजनीतिक द्वन्द्व चर्कने उनले बताए ।
राजनीतिक दलहरु बाह्य हस्तक्षेप रोक्न एक हुनुपर्ने उनको भनाइ थियो ।