थप समाचारमंगलबार, १४ भाद्र , २०७३

युनिलिभर नेपाल : मजदूर विवादले बन्द

हिमालखबर

- हरि हुमागाईं

मजदूर आन्दोलनका कारण बन्द भएको उद्योगको सूचीमा हेटौंडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर पनि थपिएको छ।

हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडका मजदूरले 'पोहोरको महाभूकम्पले भत्काएको घर बनाउन' आवास कोषबाट जनही रु.२ लाख दिनुपर्ने माग राखेर गत २६ असारबाट उद्योगको उत्पादन बजार लैजान रोक लगाए।

त्यसमा अगुवाइ गर्ने सात जना मजदूर नेतालाई उद्योगले तीन महीनाका लागि निलम्बन गरेपछि आन्दोलन झ्न् चर्कियो। एक महीनामा रु.९ करोड नोक्सानी भएपछि २३ साउनमा उद्योग प्रशासनले निलम्बन फुकुवा, एक महीनामा आवास कोषको समस्या समाधान र अबको दुई वर्षसम्म कुनै माग राखेर बन्द–हड्ताल गर्न नपाउने सहमति गर्‍यो। 

बिहान उद्योगको मूलगेटमा ताल्चा लगाएर दिउँसो मकवानपुर जिल्ला प्रशासन कार्यालय पुगेको उद्योग प्रशासनले आठ घण्टाको वार्तामा तीनबुँदे सहमति गरे पनि उद्योग व्यवस्थापनको माथिल्लो तहको आदेशमा त्यसलाई पालना गरेन। उद्योगको गेटमा टाँसिएको सूचनामा भनिएको छ– 'नेपालको श्रम ऐन २०४८ को दफा ७७ (३) अनुरूप तत्काल लागू हुने तालाबन्दीको घोषणा गरिन्छ र थप जानकारी नआएसम्मको लागि लागू भइरहनेछ।'

युनिलिभर हेटौंडाले सेवा अवधि पाँच वर्ष पुगेका सामान्य मजदूरदेखि म्यानेजरसम्मलाई आवास कोषबाट तह अनुसार रु.७ लाखदेखि रु.१३ लाखसम्म २० वर्षे निर्ब्याजी ऋण दिने गरेको छ। यस्तो आवास ऋण सबैले लिएको उद्योग व्यवस्थापन स्रोत बताउँछ। स्रोतका अनुसार, त्यसमाथि फेरि भूकम्पको नाममा सबैलाई रु.२–२ लाख दिनुपर्ने माग भएपछि व्यवस्थापन कठोर हुन खोजेको थियो।

२०५२ सालमा स्थापित युनिलिभर हेटौंडा क्षेत्रका ९० उद्योगमध्ये सबभन्दा राम्रो तलब सुविधा दिने कम्पनीमा गनिन्छ। सौन्दर्य सामग्री, साबुन, पेष्ट, सेम्पु, सर्फ उत्पादन गर्दै आएको यो उद्योग एक दिन बन्द हुँदा रु.५० लाख नोक्सानी हुने व्यवस्थापनको भनाइ छ। तर, मजदूर संगठनहरूको ज्यादतीले अन्ततः ताला लाग्ने अवस्था निम्त्याएको उद्योगका कर्पोरेट कम्युनिकेशन म्यानेजर गोविन्द शाही बताउँछन्।

उद्योग बन्दको सिलसिला
हेटौंडा औद्योगिक क्षेत्रमा मजदूर आन्दोलनको कारण २०६९ सालयता बन्द हुने दोस्रो उद्योग हो, युनिलिभर नेपाल। २०६९ जेठमा महाशक्ति सोप एण्ड केमिकल प्रालि बन्द भएको थियो। निकै चलेको पूजा साबुन उत्पादक महाशक्ति बन्द हुँदा उद्योगमा १२५ जना स्थायी मजदूर थिए भने अहिले बहुराष्ट्रिय कम्पनी युनिलिभर बन्द हुँदा २०८ जना कामविहीन बनेका छन्। 

महाशक्ति सोप अघि २०६५ मा पनि मजदूर आन्दोलनकै कारण अर्को बहुराष्ट्रिय कम्पनी कोलगेट बन्द भएको थियो। कोलगेट कम्पनीलाई चाहिने सामग्रीहरू उत्पादन गर्ने एस प्याकेजिङ, एभरेस्ट कन्टेनर र राधिका प्याकेजिङ बन्द भएका थिए। ती चार उद्योगले चार सयभन्दा बढीलाई रोजगारी दिएका थिए।

त्यसअघि २०५७ फागुनमा करीब ११ सय मजदूर कार्यरत सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग बन्द भएको थियो। दलैपिच्छेका मजदूर संगठनको 'राजनीति' लाई उद्योग बन्द हुनुको प्रमुख कारण मानिएको थियो।

हेटौंडा औद्योगिक क्षेत्रमा वसुधा मार्बल्स प्रालि, विराट लेदर इन्ड्रष्ट्रिज प्रालि, विष्णु प्रिया इन्ड्रष्ट्रिज प्रालि, नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड, पशुपति जिपर्स प्रालि, त्रिशक्ति पोलिप्याक्स प्रालि, नेपाल सिन्थेटिक प्रालिलगायतका उद्योग मजदूर आन्दोलनकै निहुँमा बन्द भए। मजदूर आन्दोलनका कारण दुईवटा बहुराष्ट्रिय सहित १० उद्योग बन्द हुँदा दुई हजार जनाको रोजगारी गुमेको छ।

उद्योगमा मजदूरको मार
उद्योग बन्द हुनुमा मजदूर र व्यवस्थापन एक–अर्कालाई दोष लगाउँछन्। अहिले युनिलिभर बन्द हुनुमा व्यवस्थापन पक्ष जिम्मेवार भएको उद्योगमा क्रियाशील अखिल नेपाल औद्योगिक मजदूर संघका अध्यक्ष जयराम धिताल बताउँछन्।

व्यवस्थापनले माग पूरा गर्ने सहमति गरेर ताला लगाउनु सरासर बदमासी भएको उनको भनाइ छ। त्यस्तै, उद्योगका म्यानेजर अभिजित मुखपाध्याय तीनवटा मजदूर संगठनले अनावश्यक माग राखेर उत्पादनलाई बजार पुर्‍याउनै नदिई उद्योग व्यवस्थापनको भारतस्थित माथिल्लो तह (हिन्दुस्तान लिभर) लाई अप्रिय निर्णय लिन बाध्य पारेको बताउँछन्। उनी भन्छन्, “अब उताबाट निर्देशन आए उद्योग खुल्छ, नत्र खुल्दैन।”

युनिलिभर नेपाललगायत हेटौंडाका उद्योगहरू बन्द हुनुको मुख्य कारण मजदूर समस्या नै रहेको बताउने यस क्षेत्रका जानकारहरू हेटौंडा कपडा उद्योगकै समयबाट हरेक पार्टीले आफ्ना कार्यकर्ता भर्ना गर्ने र ती कार्यकर्ताले काम नगरी विभिन्न बहानामा आन्दोलन मात्रै गरिराख्ने गरेकाले यो अवस्था आएको बताउँछन्।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज अर्याल आन्दोलन गरेपछि धेरै सुविधा पाइन्छ भन्ने सोच हावी हुँदा यो स्थिति आएको बताउँछन्। “ब्यांक ऋणको दबाबमा रहने उद्योगीहरू पनि ब्याज बोकेर उद्योग बन्द गर्नुभन्दा मजदूरका जस्तासुकै माग पनि पूरा गरिदिने सहमति गर्छन्”, अर्याल भन्छन्, “अन्तिममा त्यही सहमति उद्योग बन्द हुने कारण बन्छ।” 

उज्यालो पाटो
हेटौंडामा देशकै सबभन्दा ठूलो औद्योगिक क्षेत्र छ। २ हजार ८२९ रोपनीमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा अहिले पनि ८४ उद्योग सञ्चालनमा छन्।

यी उद्योगमा ७ हजार मजदूर कार्यरत छन्। उत्पादित सामान देशभर र भारततिर पनि निकासी गर्न सजिलो स्थान भएकोले हेटौंडामा नयाँ उद्योग खुल्ने क्रम पनि यथावत् छ। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार, अहिले २० उद्योग खुल्ने तयारीमा छन् भने ६ वटा निर्माणाधीन अवस्थामा छन्।

लिमिटेडले हेटौंडा कपडा उद्योगको २६४ रोपनी जग्गालाई औद्योगिक क्षेत्रको रूपमा विकास गरेर भाडामा दिन थालेको छ। सरकारले १२ माघ २०६९ मा ३६ करोड शेयर रहने गरी कपडा उद्योगको जग्गा, भवन र मेशिनरीहरू लिमिटेडलाई हस्तान्तरण गरेको थियो।

लिमिटेडकै मातहतमा हेटौंडाको मयुरधापमा पनि औद्योगिक क्षेत्र खुल्ने भएको छ। त्यसको लागि सरकारले १९९ बिघा १० कट्ठा जमीन लिमिटेडलाई दिने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस