गंगामायाको स्वास्थ्य अवस्था गम्भीर, १०४ ज्वरो
छोराका हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
गंगामाया पानी समेत त्यागेर वीर अस्पतालकै आइसीयूमा पछिल्लो पटक अनशन बसेको आज १९ दिन भइसकेको छ ।
“पछिल्लो समय १९ दिनदेखि सबै त्यागेर अनशनमा बसेको व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर हुने नै भयो । उहाँलाई १०४ डिग्री फरेनहाइट ज्वरो छ । अवस्था नाजुक छ,” वीर अस्पतालका निमित्त निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले भने ।
चिकित्सकले उनलाई नशाबाट सलाइन दिए पनि त्यसले मात्रै गंगामायाको कमजोर शरीरलाई नपुग्ने उनले बताए ।
गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको माओवादीले २४ जेठ २०६१ मा अपहरण गरी चितवनमा हत्या गरेको थियो ।
त्यसपछि न्यायको माग गर्दै अनशन बसेका अधिकारी दम्पतीमध्ये नन्दप्रसादको अनशनको ३३४ औं दिनमा निधन भइसकेको छ । दाहसंस्कार हुन नसकेको उनको शव अझै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै छ ।
कृष्णप्रसाद हत्याका प्रमुख आरोपी भनिएका छविलाल पौडेललाई हिरासतमा लिन ८ महिनाअघि नै सर्वोच्च अदालतले आदेश दिए पनि उक्त आदेश कार्यान्वयन भएको छैन ।