भ्रमणमा जानुअघि विज्ञहरुको राय लिन्छु, राष्ट्रहित विपरित सम्झौता गर्दिन: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जानुअघि विज्ञहरुसँग राष्ट्रिय महत्वका विषयहरुमा नीतिगत र प्राविधिक राय लिने बताएका छन् ।
राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँगको भेटमा प्रधानमन्त्रीले भने, "तपाईहरुले धेरै गम्भीर विषयहरु उठाउनुभएको छ । राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्र हित विपरित निर्णय नहुन् भन्नेमा गराएको ध्यानाकर्षण महत्वपूर्ण छ । यहाँहरुले भनेजस्तै भ्रमण अघि नै उच्चस्तरीय सम्मेलनको आयोजना गर्न त समय पुग्दैन । तर, भ्रमणमा जानुअघि विज्ञहरु बोलाएर नीतिगत र प्राविधिक राय लिनेछु ।"
प्रधानमन्त्रीले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको प्रष्ट पारे ।
प्रधानमन्त्रीले भने, "फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।"
उनले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई मिलाएर लानुपर्ने बताउँदै थपे, "संविधान कार्यान्वयन गर्ने दायित्व हाम्रो काँधमा आएको छ, राष्ट्रिय एकता सुदृढ गर्नुछ । यसका लागि सबै शक्ति शक्तिहरुसँग सहकार्य गर्न जरुरी छ । तर, मेरो नेतृत्वको सरकारले सहकार्य गर्दा कसैसँग राष्ट्रिय हित विपरित सम्झौता गर्दैन ।"
भेटमा पूर्व गर्भनर डा. दिपेन्द्रबहादुर क्षेत्री, प्रा.डा. हरि पण्डित, डा. गोपाल सिवाकोटी ‘चिन्तन’, डा. द्धारिकालाल ढुंगेल, रत्नसागर श्रेष्ठ, लोकबहादुर रावत, भरतबहादुर शाही, डा. मंगल बिश्वकर्मा लगायतले निजगढ–काठमाडौं द्रुतमार्ग, माथिल्लो कर्णाली, अरुण तेस्रो, उपल्लो मस्र्याङ्दी जलविद्युत आयोजना लगायतका राष्ट्रिय आयोजनाहरु नेपाली लगानीमा नै निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।