वनरक्षक र तस्करबीच गोली हानाहान
सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा गएराति गोली हानाहान भएको छ ।
पर्साको मधुवनमथवल वन क्षेत्रमा गएराति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा गोली हानाहान भएको हो ।
नियमति गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षक टोलीमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
उनले बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करवाट रक्षकलाई नै लक्षित गरी चार राउन्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउन्ड गोली प्रहार भएको जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार, तस्कर र वनरक्षकबीच भएको गोली हानाहानमा कुनै मानवीय क्षति नभएको र बनरक्षकले घटनास्थलबाट फँडानी गरिएका चार थान सालको काँचो गोलिया, वन फँडानीमा प्रयोग गरिएका दुई थान आरा एवम् चार थान साइकल बरामद गरेका छन् ।
घटनामा संलग्न रहेकाको खोजी कार्य भइरहेको पनि उनले बताए । रासस