अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु
अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बादीकोट जादै गरेको जीप हंसपुरमा दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सदमुकाम सन्धिखर्कदेखि प्युठानको बादीकोटका लागि दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाबिसको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
९ जनाको घटनास्थलमा र २ जनाको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा मृत्यु भएको हो ।
दुर्घटना ६ जना घाइते भएका छन । घाइतेको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भैरहेको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँची धारपानी–६ कि शिक्षिका ३६ वर्षीया कमला पौडेल, हंसपुर–५ का रामबहादुर घर्ती, मिनबहादुर केसी, हंसपुर–१ का चेतबहादुर थापा, गाडीधनी किमडाँडाका नारायण राना, सन्धिखर्क–२ कि सीता नेपाली, हंसपुर–२ का हुमबहादुर घम, गुल्मी पुर्कोटदहका सिपबहादुर कुवर, भेस बहादुर थापा, भनभनेका बुद्धिराम परियार, बांगेमरोठका शोभासिंह रोका मगर रहेको घटनास्थलबाट स्थानीय शिक्षक इन्द्र रेग्मीले जानकारी दिए ।
घाईते चार जनालाई उपचारकोलागि बुटबल रिफर गरिएको छ । बाँकी ६ जना घाइते मध्ये ४ जना जीवलाल पोख्रेल, अनुज, एकता कँुवर, सुरेश खनाललाई थप उपचारका लागि बुटवल पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी घिमिरेले बताए ।
दुई जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार जारी छ । देउराली यातायात ब्यबसायी समितिको उक्त जिप सन्धिखर्कबाट दिउसो १ बजे प्युठान बादिकोटका लागि छुटेको थियो ।
उकालोमा अगाडि बढ्न नसकेको जीप पछाडी झर्न थालेपछि ब्रेक नलागेको र चालक हामफालेर भागेका कारण दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।
चालक गुल्मीका उत्तम श्रीस अहिले प्रहरी चौकी हंसपुरको नियन्त्रणमा छन् ।
प्रेम आचार्य, अर्घाखाँची