टिप्पणी शनिबार, भदौ ११, २०७३

किन भइरहेछ अनावश्यक उत्खनन ?

वसन्त महर्जन

दाता पाइयो भन्दैमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको उत्खनन गर्नैपर्छ भन्ने हुँदैन।

 

नेपालमा पुरातात्विक अध्ययन तथा उत्खननको शुरुआत सन् १८९५ मा निग्लिहवा (कपिलवस्तु) र अर्को वर्ष लुम्बिनीमा अभिलेखसहितको अशोक स्तम्भ प्राप्तिलाई मान्नुपर्छ। यी दुवै प्राप्तिको श्रेय जर्मन पुरातत्वविद् डा. ए. फूहररलाई दिने गरिएको छ। वास्तवमा, फूहररले 'चान्स डिस्कभरी' को रुपमा ती प्राप्ति गरेका थिए। र, नेपालको पुरातात्विक अध्ययन–अनुसन्धान 'चान्स डिस्कभरी' भन्दा अघि बढेको विरलै पाइन्छ। 

निग्लिहवास्थित अशोक स्तम्भको कमै चर्चा हुने गरेको छ, जुन सर्वप्रथम भारतका मेजर जसकरण सिंहले देखेका थिए। तिलौराकोटबाट केही किलोमिटर उत्तरमा एउटा पाषाण स्तम्भ रहेको भनेर उनैले दिएको सूचनाको आधारमा डा. फूहरर निग्लिहवा पुगेका थिए। त्यही स्तम्भमा रहेको अभिलेखबाट सो स्थल प्राचीन कपिलवस्तु भनेर यकिन भएको थियो। बौद्ध वाङ्मय र चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङको यात्रा विवरणमा त्यसको पूर्वतिर लुम्बिनी हुनुपर्ने उल्लेख थियो। त्यही आधारमा फूहरर निग्लिहवाबाट लुम्बिनीको खोजीमा पूर्व लागेका थिए।

अहिले बुद्ध जन्मस्थल भनेर विश्वले चिनेको लुम्बिनी त्यसबेला घना जंगल थियो। भारतमा रेल–वे विस्तारको लागि त्यही जंगलबाट काठ निकासी हुन्थ्यो। फूहरर लुम्बिनी पुग्नुुभन्दाअघि रुख कटानमा संलग्न मजदूर र फिल्ड मार्सल खड्गशमशेरले अशोक स्तम्भ देखेका थिए। जंगल बीचमा शिलास्तम्भ देखेर अचम्म मानेका खड्गशमशेरले त्यसलाई उखेल्ने प्रयत्न गरिरहेकै बखत फूहरर त्यहाँ पुगेका थिए। त्यस्तो पुरातात्विक महत्वको स्तम्भलाई यथास्थानमा सुरक्षित राख्नुपर्ने कुरा बुझाउनु र बुद्धको जन्मस्थल भेटिएको समाचार विश्वलाई दिनु डा. फूहररको योगदान हो।

नेपाल सरहदभित्र कपिलवस्तु र लुम्बिनी भेटिएपछि भारतको गोरखपुर र वस्ती जिल्ला वरिपरि भइरहेको बुद्ध जन्मस्थलको खोजी स्थगित भयो। लुम्बिनी र कपिलवस्तुको प्राप्ति पछि पनि थुप्रै अध्ययन–अनुसन्धान र उत्खनन भइसकेका छन्। डुर्हाम विश्वविद्यालयले पछिल्लो उत्खनन गरेर दिएको बुद्ध जन्मस्थलमा पहिला मन्दिर रहेको जानकारी कुनै नौलो र आश्चर्यको कुरा थिएन, मायादेवीले यक्षसँग सम्बन्धित पूजास्थल भएको रुखमुनि सिद्धार्थलाई जन्म दिएकीले। गैर–वैदिक समाजमा यक्षको पूजा गर्ने प्रचलन रहेकोले त्यहाँ पूजास्थल हुनु अनौठो कुरा होइन।

कपिलवस्तु क्षेत्रमा उत्खननका क्रममा भेटिएका 'पोष्ट होल' हरूको प्रसंगले निकै चर्चा पाएको देखियो। ती 'होल' हरू भवन बनाउन काठ वा बाँस गाड्दाका हुन् भन्ने कुरा नेपाली पुरातत्वविद् बाबुकृष्ण रिजाल नेतृत्वको उत्खनन पछि स्पष्ट भइसकेको विषय हो। तिलौराकोट आसपासका जमीनमा गरिएको जिओसर्भेले त्यहाँ फराकिला बाटा र दायाँबायाँ घरहरूको अवशेष रहेको बताएको थियो। त्यो अध्ययनपछि गौतम बुद्ध जन्मनुभन्दा अघि नै त्यस क्षेत्रमा वस्ती विकास भइसकेको प्रचार–प्रसार गरियो।

जबकि, बुद्धभन्दा अघि नै कपिलवस्तु समृद्ध राजधानी र व्यापारिक केन्द्र रहेको जनपद थियो भन्ने विवरण बौद्ध वाड्मयहरूमा पाइन्छन्। यस्तो लाग्छ, पुरातात्विक उत्खनन वा गतिविधिको उपलब्धि भनेको पुरानै कुराको पुनरावृत्ति वा पुष्टि मात्रै हो।

त्यसमाथि, लुम्बिनी र कपिलवस्तुमा गरिएका प्रायः पुरातात्विक उत्खननहरू नेपाल सरकारको बजेटबाट भएको पाइँदैन। विदेशी संघ–संस्था र दातृ निकायहरूको रुचि अनुसार भइरहेका उत्खनन्मा नेपालले दृष्टि साक्षी बस्ने काम मात्र गरिरहेको छ। उत्खननका दौरान हुने पुरातत्व सम्बन्धी विद्यार्थीको संलग्नतामा पनि नेपालीलाई भन्दा विदेशीलाई प्राथमिकता दिइन्छ। यसमा अनुभव के रह्यो भने, नेपाली विद्यार्थी देखाउने र विदेशी विद्यार्थी चपाउने दाँत हुन्।

त्यसो त, लुम्बिनी र कपिलवस्तुमा हिजोआज हुने गरेका उत्खननको उद्देश्य नै स्पष्ट छैन। उत्खननहरूले बुद्धको जन्मस्थल र उनको गृहनगर खोजेको हो भने सो कुरा पहिल्यै सिद्ध भइसकेको छ। बुद्ध नेपालमै जन्मेका हुन् भनेर थप प्रमाणित गर्न खोजिएको हो भने सिद्ध भइसकेको कुरामा थप कति प्रमाण चाहिन्छ, टुंगो हुन्न। उत्खननबाट पुरावशेष नभई धर्म खोजेको हो भने बौद्ध धर्म जमीन मुनि होइन, पुस्तकहरूमा संग्रहित उपदेश र त्यस अनुसारको जीवनयापनमा पाइन्छ।

प्रतिकृया दिनुहोस