राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा असहमति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि राप्रपा संविधान संशोधनको पक्षमा रहेको प्रमुख सचेतक कुन्ती कुमारी शाहीले जानकारी दिइन् ।
अध्यक्ष कमल थापा ४ जना मन्त्रीसहित पार्टीको नेतृत्व गर्दै सरकारमा थिए ।
राप्रपा निर्णयको पूर्ण पाठ:
सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायधिश सुशीला कार्की बिरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अप्रत्याशित रुपमा महाभियोग प्रस्ताव संसदमा दर्ता गर्नु अत्यन्त आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको छ । यस कार्यबाट प्रजातन्त्रको एक महत्वपुर्ण स्तम्भ मानिने न्यायपालिकाको स्वतन्त्र अस्तित्व एवं शक्ति पृथकिकरणको मर्म माथि गंभीर आघात पुगेको छ । न्यायपालिकाबाट भएका वा हुन सक्ने अनुमानित फैसलालाई आधार बनाएर महाभियोग लगाईनुले न्यायिक स्वतन्त्रता र सर्वोच्चतालाई चुनौति दिने र कमजोर बनाउने काम भएको छ ।
यो नितान्त अपरिपक्व र हतास मनस्थितिमा गरिएको गैरजिम्मेवार कार्य हो । राष्ट्रिय प्रजातन्त्र पार्टी यस कार्यको भत्सर्ना र बिरोध गर्दछ । राप्रपा यो प्रस्तावको विपक्षमा दृढतापुर्वक खडा हुनेछ ।
स्थानिय चुनाव हुन लागि रहेको ऐतिहासिक महत्वको यस घडिमा बदनियतपूर्वक ल्याईएको अनुपयुक्त र औचित्यहिन महाअभियोग प्रस्तावले चुनावको वातावरण, विधिको शासन र मुलुकको समग्र परिस्थिति माथि दूरगामी र नकारात्मक प्रभाव पर्ने टडकारो संभावना छ । त्यसर्थ, तत्काल महाभियोग प्रस्ताव फिर्ता लिएर मुलुकलाई थप अस्थिरता र संकटबाट जोगाउन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) संग राप्रपा आग्रह गर्दछ ।
संबिधानको कार्यान्वन तथा मधेसी मोर्चा समेतलाई सहभागी हुने वातावरण तयार गरि निर्धारित मितिमा स्थानीय चुनाव सुनिश्चित गर्न राप्रपाले निरन्तर सकारात्मक एवं रचनात्मक सहयोग पु¥याउने छ । यसै क्रममा संसदमा पेश भएको संबिधान संशोधन विधेयकलाई राप्रपाले समर्थन गर्नेछ ।
साथै, महाभियोग प्रस्तावको बिरोध गर्दै नेकपा(माओवदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित वर्तमान मन्त्रिपरिषदबाट राप्रपा अलग हुने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने बैठकले निर्णय गरेको छ ।
सुशील कुमार श्रेष्ठ
प्रवक्ता
राप्रपा