तोकिएकै समयमा निर्वाचन हुन्छः शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले तोकिएको समयमा नै स्थानीय तहको चुनाव हुने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आज प्रचार–प्रसार समन्वय उपसमितिले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोईरालाले स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न कोणबाट चुनावका बारेमा उठाइएका द्विविधा हटदै जाने बताए ।
उनले संविधान संसोधनको प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्दै त्यसैका कारण पहिलो चरणको चुनाव प्रभावित नहुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुंगोमा पुग्ने बताउदै भने, “संविधान संशोधनपारित गर्ने प्रक्रिया जारी रहनेछ तर पारित नभए पनि चुनाव भने रोकिने छैन ।”
प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पहिलो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले गरेको तयारीका बारेमा जानकारी दिएका थिए ।
उनले बढी आकांक्षी देखिएका स्थानमा पार्टीले आजसम्म उमेदवारको टुंगो लगाउने र भोलि निर्धारित समयमा मनोनयनपत्र दर्ता हुने बताए ।