बजेटपछिको निर्वाचन अमान्यः केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट पछि गरिने दोस्रो चरणको निर्वाचन नेकपा एमालेका लागि अमान्य हुने बताएका छन् ।
नेकपा एमालेको स्थानीय तह निर्वाचन सम्बन्धी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै ओलीले निर्वाचन केन्द्रित बजेट आउने र त्यसले जनतालाई प्रभाव पार्ने भन्दै बजेटपछिको निर्वाचन अमान्य भएको बताएका हुन् ।
ओलीले भने– “बजेट अघि अर्थात् १५ जेठ अघि जति चरणमा निर्वाचन गरे पनि एमाले तयार छ । तर, बजेटपछिको निर्वाचन कुनै हालतमा मान्य छैन । यो निर्वाचनको आचारसंहिता विपरीतसमेत छ ।”
एक/एक महिनासम्म सरकारले मतपेटिकाकोे सुरक्षा गर्न नसक्ने भन्दै अध्यक्ष ओलीले मतपेटिका सुरक्षित हुनेमा आशंकासमेत व्यक्त गरे ।
डिआईजी नवराज सिलवाल र अन्य केही मुद्दालाई प्रभावित गर्न सरकारले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग लगाएको ओलीको आरोप छ । कार्कीमाथिको महाअभियोग स्वतन्त्र न्यायपालिका विरुद्ध भएको भन्दै महाअभियोग तत्काल फिर्ता लिन पनि ओलीले आग्रह गरेका छन् ।
सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अयोग्य ठहर गरेपछि अदालतका विरुद्ध षडयन्त्र शुरु भएको ओलीले बताए ।