महाभियोग प्रस्ताव तुरुन्तै फिर्ता लेऊः फोरम
संघीय समाजवादी फोरमले प्रधानन्यायाधीश विरुद्धको महाभियोगको प्रस्ताव विधिको शासनमाथिको सुनियोजित हमला भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्वारा संसदमा दर्ता गरिएको महाभियोगको प्रस्तवलाई स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भन्दै यस्तो कार्य लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यता विपरित रहेको उल्लेख गरिएको छ ।
फोरमले महाभियोग प्रस्तावलाई सत्तामा रहेका व्यक्तिहरुले शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्न खोजेको गैरलोकतान्त्रिक चरित्र समेत ठहर गरेको छ ।
प्रेस–विज्ञप्ति:
सम्माननीय प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्धारा व्यवस्थापिका संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावले संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला मात्र नभई सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गर्ने कार्य लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको मूल्य र मान्यताका विपरीत रहेका छन् ।
यसरी सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र र व्यवहार हो । तसर्थ, उक्त महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गरिनु पर्दछ ।
उपेन्द्र यादव
अध्यक्ष