सर्वोच्चद्वारा तीन पूर्व आईजीपीलाई जेल सजाय
सर्वोच्च अदालतले ‘सुडान घोटाला काण्ड’ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्व आईजीपीलाई जेल सजायको आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले पूर्व आईजीपी ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र रु ४० हजार जरिवाना र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र रु ४० हजार जरिवानाको सजाय सुनाएको हो ।
त्यसैगरी सर्वोच्चले तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई ६/६ महीना कैद र रु ३० हजार जरिवानाको आदेश दिएको छ भने अन्य आरोपीलाई सफाइ दिएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गत सुडानमा खटिने प्रहरी मिसनका लागि आवश्यक बन्दोवस्तीका सामान खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियारले पुन सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
अभियोगपत्रमा सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरु मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको उल्लेख छ ।