साझा पार्टीको तर्फबाट ललितपुरको मेयर र उपमेयरमा उम्मेदवारी
साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
रत्न आभुषण व्यवसायमा संलग्न ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्षसमेत हुन् । उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य छन् ।
त्यस्तै ५४ वर्षीय शोभा शाक्य शाक्यसिंह विहारकी उपाध्यक्ष छिन् । शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो ऊन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिइरहेको साझा पार्टीले जनाएको छ ।
साझा पार्टी निर्वाचन आयोगमा दर्ता नभएको र चुनाव चिह्न पनि नभएकोले दुवै उम्मेदवारले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिनेछन् ।