महिला तस्करीको नयाँ रुट, भारत दुबई हुँदै ओमन
रोजगारको प्रलोभन देखाएर भारत, दुबई हुँदै ओमनमा महिला तस्करी गर्ने तीन तस्करलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक शिपापोखरी ४ का तोकबहादुर तामाङ, झापा जुरोपानी–५ का मेदनीप्रसाद प्रसाई र सिन्धुपाल्चोक मार्मिङ–५ का निमा तामाङ रहेका छन् ।
उनीहरूले आर्थिक रूपमा विपन्न महिलाहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर तस्करी गर्दै आएको सिआईबीले जनाएको छ ।
दलालले नेपाली महिलालाई काठमाडौँको स्वम्भुबाट भारत जाने बसमा चढाएर भैरहवासम्म पुर्याउँछन् । भैरहवाबाट उनीहरूलाई अर्कै एजेन्टले नयाँदिल्ली लगेर त्यहाँबाट जहाजमा दुबै हुँदै ओमान पुर्याउने गरेको सिआईबीको अनुसन्धानबाट खुल्न आएको छ ।
अनुसन्धानमा संलग्न सिआईबीका प्रहरी निरिक्षक हरिप्रसाद बस्नेतले नेपालको हवाईमार्ग नभई सडक मार्गबाट भारतसम्म पुर्याउन तस्करहरु सक्रिय भएको बताए । तस्करीका क्रममा उनीहरूले महिलाहरूलाई बालाजु र पुतलीसडकका गेष्ट हाउसहरुमा राख्ने गरेको भेटिएको छ ।
ओमान पु¥याएका महिलाहरूलाई करिब सात लाखसम्ममा बेच्ने र त्यस बापतको प्रति महिला रु. एक लाख ३० हजार रकम नेपाली एजेन्टलाई पठाउने गरेको सिआईबीका प्रहरी निरिक्षक हरि बस्नेतले बताए ।
तस्करीमा परेका महिलाहरू घरेलु कामदारको साथै यौनजन्य व्यवसायमा संलग्न हुने गरेको बस्नेतको भनाइ छ ।
रामु सापकोटा