उम्मेदवार बन्दै अगुवा महिला
गुर्भाकोट नगरपालिका–९, सुर्खेतकी कमला विक स्थानीय तह निर्वाचनमा वडा सदस्यमा प्रतिस्पर्धा गर्ने भएकी छन्। वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्रको नेतृत्व सम्हाल्दै आएकी विक भन्छिन्, “अहिलेसम्म संघ/संस्थामा लागेर समाजसेवा गर्दै आएकी थिएँ, अब स्थानीय सरकारमा बसेर समाजसेवा गर्छु।”
बराहताल गाउँपालिका–९ की सन्तदेवी विक पनि वडा सदस्यको उम्मेदवार बन्दैछिन्। वडा नागरिक मञ्च संयोजक विक गाउँपालिकामा पनि महिला अधिकारका कुरा उठाउन निर्वाचन लड्न लागेको बताउँछिन्।
उनीहरू जस्तै सामाजिक कार्यमा संलग्न अगुवामा महिलाहरू स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। कतिपय आफैं राजनीतिक दलसँग आवद्ध हुन थालेका छन् भने कतिपयलाई राजनीतिक दलले उम्मेदवारका लागि आबद्ध गराउँदैछन्।
सामाजिक कार्यकर्तालाई रोज्नुको कारण खुलाउँदै नेपाल महिला संघ, सुर्खेतकी अध्यक्ष मोहनमाया ढकाल भन्छिन्, “अहिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउन आवश्यक पर्ने जति महिला पार्टीमा छैनन्। त्यसैले वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सामुदायिक वन, उपभोक्ता समितिमा नेतृत्व गरेका महिला प्राथमिकतामा परेका छन्।”
स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा अनिवार्य महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ। त्यस्तै नगरपालिका र गाउँपालिकाको वडामा दुई जना महिला सदस्यको व्यवस्था छ।
जसमा एक जना दलित समुदायको हुनुपर्छ। जसअनुसार सुर्खेतका पाँच नगरपालिका र चार गाउँपालिका तथा ९९ वडामा कम्तीमा २०७ जना महिला उम्मेदवार हुनेछन्। जसमा ९९ जना दलित समुदायका महिला उम्मेदवार हुनेछन्।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी प्रदेश ६ संयोजक हरिमाया शर्मा अब कसैले चाहेर पनि महिलालाई रोक्न नसक्ने बताउँछिन्। महिलालाई कमजोर ठान्न नहुने बताउँदै संयोजक शर्मा भन्छिन्, “अब स्थानीय तहको निर्वाचनसँगै राजनीतिमा महिलाको समान सहभागिता खोजौं।”
-लक्ष्मी भण्डारी , सुर्खेत