डीआईजी सिलवाल प्रहरी नियन्त्रणमा
प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ११ वैशाख विहान वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट डीआईजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कानूनी परामर्श लिइरहेका बेला प्रहरीको टोलीले डीआईजी सिलवाललाई नियन्त्रणमा लिएर गएको अधिवक्ता टीकाराम भट्टराईले हिमालखबरलाई बताए ।
डीआईजी सिलवाललाई नियन्त्रणमा लिने बेला वरिष्ठ अधिवक्ता थापाले ‘मेरो क्लाइन्टलाई मेरो घरबाट लग्न दिन्न' भनेपछि प्रहरीले 'तपाई पनि हिड्नुस' भनेर सँगै लगेको अधिवक्ता भट्टराईले बताए ।
प्रहरी प्रधान कार्यालयले भने उनलाई बयानका लागि बोलाएको जनाएको छ ।
सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेपछि डीआईजी सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय खारेज गरेको थियो । त्यसपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई आईजीपी बनाउने निर्णय गरेको थियो ।
त्यसका विरुद्ध पनि अदालत पुगेका डीआईजी सिलवालको मुद्दामा १९ वैशाखमा सुनुवाई हुदैछ । सर्वोच्चले निर्णय कार्यान्वयन गर्न रोक नलागएपछि अर्याललाई आईजीपी नियुक्त भइसकेका छन् ।
सर्वोच्च अदालतमा डीआईजी सिलवालले बुझाएको कार्यासम्पादन मूल्याङकन र मन्त्रीपरिषदमा पेश गरिएको कार्यासम्पादन मूल्याङ्कनमा फरक परेपछि सरकारले छानविन गर्न प्रहरीलाई निर्देशन दिएको थियो । त्यही छानविनका क्रममा डीआईजी सिलवाललाई नियन्त्रणमा लिएको जनाएको छ ।