नशालु पदार्थ खुवाएर लुटपाट गर्ने पक्राउ
नशालु पदार्थ खुवाएर यात्रुलाई लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काँकडभिट्टाबाट काठमाण्डौ जादै गरेको ना. ६ ख. ८४५१ नम्बरको रात्रीबसका यात्रुलाई लुटपाट गरेपछि ८ वैशाखमा बिहार, भारतका रञ्जित कुवर गिरी र रवि कनललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पृथ्वी राजमार्गअन्तर्गत नौबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
उनीहरुले उर्लाबारी, मोरङका कमल श्रेष्ठ र झापाका गणेश आचार्यलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेका थिए । नशालु पदार्थ मिसाएको जुस खुवाएर बेहोस भएपछि औंठी, सिक्री र नगद लुटेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायव उपरिक्षक दीपेन्द्र पञ्जियारले बताए ।
नौबिसेमा बसबाट ओर्लिर हुलिया बदल्न दाह्री र कपाल काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
-सानुबाबु तिमिल्सिना, धादिङ