धनगढीलाई डीपीएलको उपाधि
धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटको उपाधी धनगढी टीम चौराहाले जितेको छ । ९ वैशाखमा सम्पन्न फाइनल खेलमा विराटनगर किंग्सलाई ६२ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ रोजेको धनगढी निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ सेखले ३० बलमा ५४ रनको महत्वपूर्ण योगदान दिएका थिए । त्यस्तै अमर रौटेलाले ३१, कप्तान पारश खड्काले २९, पृथु बास्कोटा र सौरभ खनालले १४/१४ रन बनाएका थिए ।
विराटनगरका लागि सुशील कँडेलले २, जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश बिष्टले १/१ विकेट लिएका थिए ।
प्रतिउत्तरमा विराटनगरको पारी जम्न सकेन् र १८.१ ओभरमा सबै विकेट गुमाएर ९७ रनमै समेटियो । १४ रनमै पहिलो विकेट झरेको विराटनगरका नियमित रुपमा विकेट झर्दै गए । प्रनित थापामागर २७, अमित श्रेष्ठ २६, अनिल शाह र दीपेन्द्रस्रिंह ऐरी १३/१३ रन बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् ।
धनगढीका लागि सुशन भारी ३, आरिफ सेख र सौरभ खनालले २/२, रामनरेश गिरी र ललित राजवंशीले १/१ विकेट लिए ।
फाइनल खेलमा धनगढीका आरिफ सेख प्लेयर अफ द म्याच र विराटनगरका सुशील कँडेल प्लेयर अफ द सेरिज भए । उपाधिसँगै धनगढीले रु.१५ र उपविजेता विराटनगरले रु.७ लाख नगद पुरस्कार पाएको छ ।