म्याग्दीमा निर्वाचनको तयारी तीव्र
३१ वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ ।
स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायत आवश्यक सबै तयारीलाई तीव्रता दिइएको हो ।
हालसम्म मतदाता विवरण अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र निर्धारण, म्यादी प्रहरी भर्ना, नियुक्ति र तालिम, निर्वाचनमा खटाइने कर्मचारीको विवरण सङ्कलन र अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा स्थानीय तहको निर्वाचनका लागि जम्मा ७२ वटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए ।
यसैबीच म्याग्दीका राजनीतिक दलहरु नगरपालिका, गाउँपालिका र वडाको उम्मेदवार छान्न व्यस्त रहेका छन् । जिल्लादेखि गाउँ तहसम्म चुनावी सरगर्मी बढेको छ भने दलहरु चुनावकेन्द्रित अभियानमा जुटिरहेका छन् ।
म्याग्दीमा ७१ हजार चार सय ६३ मतदाता छन् भने १२ वटा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । रासस