२०१७ भित्रै दुई जोडी गैँडा चीन पठाइने
चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ ।
यसका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गैंडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ ।
अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैँडा पठाइने उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए । हालैमात्र चीन पुगेर नेपालका तर्फबाट गैँडा दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका भट्टराईका अनुसार अध्ययन अनुसन्धानका लागि ती गैँडा चीनले प्रयोग गर्नेछ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार १० वर्षमुनिका अर्धवयस्क गैँडा पठाइने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुल्ला खोरमा राखेर मात्र पठाइने छ । स्वास्थ्य परीक्षण गरेर पठाइने ती गैँडाको रहनसहनबारे चिनियाँ टोलीलाई जानकारी गराएर मात्र पठाइने उनले बताए ।
नेपालबाट लगिने गैँडामध्ये एक जोडीलाई सङ्घाइ सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिने छ ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैँडा पठाइ सकिएको छ ।
सन् १९८६ बाट हालसम्म यस निकुञ्जबाट बर्दियामा ९१ वटा र शुक्लाफाँटामा नौ वटा गैँडा पठाइ सकिएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका छन् । हालैमात्र आठ वटा बर्दिया र पाँचवटा गैँडा शुक्लाफाँटामा लगिएको छ । रासस