टेलिफोन टावर बनाउनेलाई भोट
साविकको रग्दा गाविस– ४ रोली जाजरकोटका बासिन्दा आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिभन्दा टाढा रहेर आफ्नो क्षेत्रमा टेलिफोन सेवा उपलब्ध गराउने दललाई भोट दिन एकजुट भएका छन् ।
अहिले त्रिवेणी–नलगाड नगरपालिकाभित्र परेका उनीहरुले जुन दलका प्रतिनिधिले टेलिफोन टावर बनाउने प्रतिबद्धता जनाउँछ सोही दलका नेतालाई मतदानमा सघाउने भएका हुन् ।
टेलिफोनको टावर निर्माणका लागि राजनीतिक दलका नेतादेखि सम्बन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।
यहाँका स्थानीय शहर तथा विदेशमा रहेका आफन्तलाई सम्पर्क गर्नुपरे एक कल फोन गर्न जाँदा–आउँदा गरी चार सय रुपैयाँ खर्चेर रुकुमको राडीबजार गएर फोन गर्नुपर्ने बाध्यता छन् ।
उक्त गाउँमा अहिलेसम्म न विद्युत् सेवा नत सञ्चार सुविधा नै । जाजरकोट– डोल्पा बाटोले गाउँलाई छोए पनि नियमित र भरपर्दो यातायात सेवा पनि सञ्चालन भएको छैन ।
“स्थानीय तहको पुनःसंरचनापछि गाउँको विकासका लागि यहाँका बासिन्दा एकजुट भएका हौँ ।” रोलीका नरबहादुर ध्यारले भने, ‘‘गाउँमा टेलिफोनको टावर नहुँदा फोनले काम गर्दैन । टेलिफोन गर्न चार घन्टा पैदल हिँडेर रुकुमको राडीबजार जानुपर्छ त्यसैले हाम्रो समस्या बुझ्ने र तत्काल टेलिफोनको टावर बनाउन पहल गरिदिने नेता र पार्टीलाई भोट दिन्छौं ।’’
जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाका रग्दा, रोली, चौखा गाउँमा सञ्चारका कुनै साधनले काम गर्दैन । पत्रपत्रिका र टेलिभिजनको त कुरै छोडौं ती गाउँमा रेडियो सुन्न पनि पाइन्न । यी तीनवटा गाउँमा एफएम रेडियोको पहुँचसमेत छैन । चौखाका किशोर मल्लले भने– ‘‘एनटिसी, स्काइ र एनसेल कुनै पनि फोनले काम गर्दैनन् । फोन सुविधा नहुँदा यहाँका बासिन्दा समस्यामा छन् । ’’ मल्लले भने, “जुन नेता र पार्टीले विश्वास दिलाउँछ पूरै गाउँलेले त्यही पार्टीलाई भोट हाल्ने निर्णय भएको छ । ”
संविधान सभाको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका पार्टीका उम्मेदवारले यहाँको टेलिफोन समस्या समाधानका लागि टावर निर्माणमा पहल गर्ने प्रतिवद्धता गरेका थिए । चुनावपछि कुनै पनि नेता फर्केर नआएको स्थानीयको गुनासो छ । रग्दा गाउँमा ६०, रोली गाउँमा ९१ र चौखा गाउँमा ४५ घर छन् ।