देशव्यापी विरोधका कार्यक्रम गर्छौंः कमल थापा
उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशव्यापी विरोधका कार्यक्रम गरिने बताएका छन् ।
निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट ‘राजसंस्था र हिन्दु राज्य’ लाई हटाएको विरोधमा त्यस्तो देशव्यापी विरोधका कार्यक्रम गर्ने तयारी भइरहेको बताएका हुन् ।
आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले निर्वाचन आयोगको निर्णय विरुद्ध गाउंपालिका र नगरपालिकाबाट सांकेतिक रुपमा आन्दोलन शुरु भइसकेको बताए ।
कुनै पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगको नभएको भन्दै राप्रपा अध्यक्ष थापाले सो निर्णय तत्काल सच्चाउन समेत निर्वाचन आयोगलाई आग्रह गरे ।
मोर्चाले चुनाव बहिस्कार नगरोस्
उनले स्थानीय तहको चुनाव संविधान कार्यान्वयनसँग जोडिएकालेपनि मधेशी मोर्चाले चुनाव वहिष्कारको कठोर निर्णय गर्न नहुने बताए ।
मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नरहने भन्दै उनले ३१ वैशाखमा जसरी पनि स्थानीय तहको निर्वाचन हुने बताए ।
मोर्चा निर्वाचनमा सहभागी हुने भएमा भने केही स्थानमा मात्रै दोस्रो चरणमा चुनाव गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
दीपक ज्ञवाली,बुटवल