डिप बोरिङ् गर्दा निस्किएको आगो चार घण्टापछि नियन्त्रणमा
भक्तपुरको पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ ।
सूर्यविनायक नगरपालिका–१ सिरुटारको साबिक गाविस भवननजिकै खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा बिहान १०:१५ बजे एक्कासि आगोको मुस्लो निस्किएको थियो ।
जमिन मुनी रहेको ग्यास एक्कासी निस्किएर बलेको आयोजनाका कर्मचारीले बताएका छन् ।
सिरुटार खानेपानी आयोजना दोस्रो चरणको काम गर्ने क्रममा १८० फिट गहिरोमा गएपछि एक्कासि आगोको मुस्लो निस्किएको तत्कालीन सिरुटार गाविस अध्यक्ष शशिजङ्ग थापाले बताए ।
“सोमबार बिहान मैले नै यो डिपबोरिङ्को शिलान्यास गरी काम सुरु गरेका हौँ, तर काम गर्दै जाँदा सुरुमा ढुङ्गा भेटियो, त्यसको एक क्षणपछि अचानक आगोको मुस्लो नै निस्कियो,” उनले भने ।
स्थानीय बासिन्दाको पहलमा आगो नियन्त्रणमा नआएपछि भक्तपुरका दुई, काठमाडौं महानगरपालिकाको एक, ललितपुर उपमहानगरपालिकाको एक र नेपाली सेनाको एकवटा दमकल सहित स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयास गरेको थियो ।
दमकलले पानी र आगो नियन्त्रणमा लिने रसायनको प्रयोगसँगै ग्यास निस्किएको पाइपमा माटो र बोरालगायत सामग्री हालेर बन्द गराएपछि दिउँसो २ बजे आगो नियन्त्रणमा आएको थियो ।
आगो निस्किएपछि मानवीय क्षति नभए पनि डिपबोरिङ गरेको सात मिटर आसपासको क्षेत्रमा रहेको बस्ती जोखिममा परेको थियो ।
आगो निस्किएर पिला गाउँ तनावमय भएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर, नेपाल आयल निगम, विपद् उद्धार व्यवस्थापन, भूगर्भ विभागका टोलीले अनुगमन गरेका थिए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख शिभेष झाले आयोजनामा ग्यास निस्किएकाले यसको खानी तथा भूगर्भ विभागले अध्ययन गरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुने बताए ।
रासस