मकवानपुरमा मतदाता स्वयंसेवक परिचालन
मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न आज बिहानैदेखि स्वयंसेवक परिचालन गरिएको छ ।
आठ गाउँपालिकामा नौ/नौ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा उपमहापालिकाका १९ वडामा करिब चार सय ७० जना मतदाता स्वयम्सेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
यसैबीच हेटौँडा उपमहानगरपालिका वडा नं २ स्थित जिल्ला समन्वय परिषद्को भवनमा मुख्य निर्वाचन कार्यालय भोली, ३ बैशाखदेखि सञ्चालन गरिन लागेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी गराए । उनका अनुसार जिल्लाका आठ गाउँपालिका र थाहा नगरपालिकामा भने १२ वैशाखदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालन गरिने छ ।
मकवानपुर जिल्लामा दुई लाख २७ हजार सात सय ६४ मतदाता र तीन सय सात मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भने ७३ हजार दुई सय ६७ र थाहा नगरपालिकामा २९ हजार दुई सय ३२ मतदाता रहेको बताइएको छ । रासस