डीपीएलः रुपन्देही च्यालेन्जर्स शिर्ष स्थानमा
धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत १ वैशाखमा भएको खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया विजयी भएका छन ।
रुपन्देहीले काठमाडौँ गोल्डेन्सलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । यो जितसँगै रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । काठमाडौं भने ४ खेलमा २ जित र २ हारसहित तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै अत्तरिया तेस्रो र विराटनगर किंग्स चौथो स्थानमा छ ।
१ वैशाखमा भएको पहिलो खेलमा सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिंग रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १३५ रन बनायो । उसको लागि नुरधोज सेनले ३७, पुष्प थापाले ३६, शंकर रानाले १६, प्रकाश केसीले १२ र बिक्रम सोबले १० रन बनाए । काठमाडौंका लागि गोल्डेन्सका सोमपाल कामीले ४, मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले एक/एक विकेट लिए ।
प्रतिउत्तरमा काठमाडौं गोल्डेन्स ९ विकेटको नोक्सानीमा १२० रनमै समेटियो । गोल्डेन्सका ब्याट्सम्यान सुमित महर्जनले २७, सुपेन्दु पाण्डे र रोहित पौडेलले २०/२० रन बताए । रुपन्देहीका शक्ति गौचनले ३, विक्रम सोब र कृष्ण कार्कीले दुई/दुई तथा पुष्प थापा र साहव आलमले एक/एक विकेट लिए । खेलकोे वेल्स क्याफे म्यान अफ द म्याच रुपन्देहीका पुष्प थापा भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले ४ विकेटको क्षतिमा १४२ रन बनायो । अत्तरियाका लागि रोन नेपालीले ३२, योगेन्द्र कार्कीले २७, प्रदीप ऐरीले २६ र करन केसीले २५ रन बनाए । चौराहका लागि सौरव खनालले २ विकेट तथा आरिफ सेख र सुसन भारीले एक/एक विकेट लिए ।
प्रतिउत्तरमा चौरहाले ९ विकेटको क्षतिमा १०२ रन मात्रै बनाउन सक्यो । उसका लागि रामनरेश गिरीले ३९, सौरव खनालले २३ र अनिल मण्डलले १९ रन बनाए । अत्तरियाका लागि मेहवुव आलम र सुरेन्द्र चन्दले ३/३ र विनोद लामाले २ विकेट लिए । वेल्स क्याफे म्यान अफ द म्याच अत्तरियाका मेहवुव आलम भए ।
डीपीएल अन्तरगत २ वैशाखमा पहिलो खेल विराटनगर किंग्स र कञ्चनपुर आईकोनिक तथा दोस्रो खेल काठमाण्डौ गोल्डेन र धनगढी टीम चौराहबीच हुने छ ।