नियमित विद्यालय आउने विद्यार्थीलाई मासिक दुईसय
म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थी सङ्ख्या बढेको छ ।
नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर गर्नेलगायतका शैक्षिक गतिविधिमा सक्रिय बनाउन विद्यार्थीलाई मासिक दुई सय रुपैयाँसहित स्टेसनरी साम्रगीसमेत उपलब्ध गराउन थालिएपछि शैक्षिक गुणस्तर बढ्नुका साथै अभिभावकको सक्रियता समेत बढेको विद्यालयका शिक्षक लोकेन्द्रबहादुर खड्काले बताए ।
३० चैतमा विद्यालयमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी गुणस्तरीय शिक्षाको वातावरण बनाउन सकिएमा विद्यार्थीको आर्कषण बढ्ने विचार व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बमबहादुर पुनले आर्थिकसहित शैक्षिक सहयोगले विद्यार्थीको सङ्ख्यासँगै गुणस्तरीय शिक्षामासमेत सहयोग पुगेको बताए । बेलायती सामाजिक संस्थामा कार्यरत रघुगङ्गा गाउँपालिका अन्तर्गत झिँ का खिम शेरचनले सङ्कलन गरेको रु २० लाख विद्यालयको मुद्दतिमा राखेपछि विद्यार्थीलाई आर्कषण गर्न सजिलो भएको हो । रासस