स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन हुँदै
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तेस्रो शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र विदेशका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरु सहभागि हुने जनाएको छ ।
२७ चैतमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले खोज तथा अनुसन्धानका बारेमा जानकारी दिने जनाएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ६३ अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुति र १२८ वटा पोष्टर प्रस्तुति गर्ने परिषदका कार्यकारी अध्यक्ष प्रा.डा. अन्जनी कुमार झाले जानकारी दिए । सम्मेलनमा स्वस्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित एक हजार जना भन्दा बढीको सहभागिता रहने जनाएको छ ।
‘दीगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ?’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनका उत्कृष्ट ६ प्रस्तुतिकरणलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।