बैतडीमा १७८ महिलाले प्रतिनिधित्व गर्दै
आसन्न स्थानीय तह निर्वाचनमा बैतडीमा कम्तीमा पनि एक सय ७८ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।
जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ८४ वडा रहेका छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित, पिछडिएको समुदायको र अर्को अन्य समुदायको महिला हुनुपर्नेछ ।
सो अनुुसार निर्वाचनबाट चार सय ४० प्रतिनिधित्व रहने निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए । हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु पर्ने कानुनी व्यवस्था छ । सो अनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १० महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ ।
यस्तै, हरेक वडाबाट दुई–दुई महिला गरी एक सय ७८ महिलाको प्रतिनिधित्व हुने पक्का देखिएको छ । बैतडीमा स्थानीय निर्वाचनका लागि १३ दल दर्ता भएका छन् भने एक लाख २४ हजार आठ सय २४ मतदाता रहेका छन् । रासस