भूकम्पपीडितका लागि आयात गरिएको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा
भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ ।
नेपाल सरकारको निर्देशन साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको चौरमा भण्डारण गरेर राखिएको हो ।
भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र ट्रेडिङले २०७२ साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
ती सबै जस्तापाता खुल्ला चौरमै राखिएका कारण खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् ।
आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले भूकम्प प्रभावित जिल्लामा जस्तापाता पठाउन नसकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछानेले बताए ।
भूकम्प प्रभावित १४ जिल्लाका अधिकांश सर्वसाधारण भने अझै पालमुनी बस्न बाध्य छन् । रासस