ऊर्जा खपतका लागि एलइडी बल्ब प्रयोग गर्न प्राधिकरणको आग्रह
मुलुक लोडसेडिङमुक्त भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले व्यवस्थित रूपमा विद्युत् उपलब्ध गराउन र कम ऊर्जा खपतको बानी बसाल्न नागरिकको ध्यान केन्द्रित गर्ने भएको छ ।
ऊर्जा खपतको लागि नेपाल विद्युत् प्राधिकरणले दुई करोड एलइडी बल्ब खरिद गर्ने तयारी गरेको छ । एलइडी बल्बको प्रयोगपछि विद्युत् उपभोगको मात्रा घट्ने प्राधिकरणले जनाएको छ ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले एलइडी बल्ब खरिदका लागि बजेट विनियोजन गरिसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विशेषगरी साँझको समयमा विद्युत् खपत घटाउने र विद्युत् खेर जान नदिनेतर्फ प्राधिकरण लागिपरेको घिसिङको भनाइ छ ।
चालु आवको अन्त्यसम्म विभिन्न जलविद्युत् आयोजनाबाट १४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी आवमा थप २२० मेगावाट विद्युत् जोडिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार मुलुकभर करिब ६० प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ भने ४० प्रतिशत क्षेत्रमा विद्युतीकरण हुन सकेको छैन । विद्युतीकरण नभएका क्षेत्रमा प्राधिकरणले ग्रामीण विद्युतीकरण कार्ययोजना अगाडि बढाइरहेको छ ।