चिनियाँ राष्ट्रपतिद्वारा चुनावको स्वागत गर्दै सहयोगको घोषणा
तुफान न्यौपाने, बेइजिङ
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । हाइनान प्रान्तमा प्रथम उपप्रधानमन्त्री झङ गाओलीसँग र बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ र अर्का उपप्रधानमन्त्री वाङ याङसँगको भेटपछि प्रधानमन्त्री दाहालले १४ चैत दिउँसो राष्ट्रपति सीलाई भेटेका हुन् ।
उपप्रधानमन्त्रीद्धय र कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँगको भेटमा प्रधानमन्त्री दाहालले राखेका नेपाल–चीन रेलवे सेवा विस्तार, तातोपानी नाका पुन सञ्चालन, व्यापार तथा पारवाहन, पर्यटन, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा नेपालको प्रतिवद्धता जस्ता विषय राष्ट्रपति सीसँगको भेटमा पनि दोहोर्याएका थिए ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले नेपाली पक्षले राखेका सबै विषयमा चिनका राष्ट्रपति सीले समर्थन जनाएको बताए । “नेपालको समृद्धिका लागि हामी सबै सहयोग गर्न तयार छौं” राष्ट्रपति सीलाई उद्धृत गर्दै आचार्यले भने । उनले स्थानीय चुनाव घोषणा गरेकोमा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफलताको शुभकामना दिएको बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यका अनुसार चुनाव सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रपति सी ले तत्कालै ९ मिलियन चिनियाँ यूयान (करीब रु.१५ करोड) सहयोग घोषणा गरेका छन् । साथै उनले सुरक्षामासमेत चिनियाँ सहयोग रहने बताएका छन् ।
राष्ट्रपति सीले नेपाललाई रेल मार्गबाट जोड्ने र तातोपानी नाका खुल्ने विषयले आफूले नै चासो दिएको बताएको आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनको क्रममा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने र ‘एक चीन नीति’ प्रति नेपालको प्रतिवद्धता दोहो¥याएका थिए । साथै बेल्ट ‘एण्ड रोड इनिसिएटिभ’ मा नेपालको पहिलेदेखि नै सहमति रहेको उल्लेख गरेका थिए । चीनको प्रमुख चासोलाई प्रधानमन्त्री दाहालले आफ्नै सम्बोधनमा उल्लेख गरीसकेपछि राष्ट्रपति सीले त्यसमा थप चासो नदेखाएको बरु धन्यवाद भनेको दाहालका प्रेस सल्लाहाकार आचार्यले बताए ।
भेटपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँगको छलफल नेपालका लागि निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । उच्चस्तरीय छलफलले नेपाल र चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीको प्रतिक्रियालाई cmprachanda.com ले उल्लेख गरेको छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आजै छङ्दु प्रस्थान गरेको छ । १५ चैत ल्हासामा बिताएर प्रधानमन्त्री १६ चैतमा स्वेदश फर्कनेछन् ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले स्थान दिएका छैनन् । १३ चैतमा बेइजिङमा प्रधानमन्त्री दाहालले नेपाली चीन सम्बन्धबारे प्रवचन दिएको, कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख र उपप्रधानमन्त्री सँग भेटवार्ता गरेको दिन ग्लोबल टाइम्सले नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट साट्ने विषयमा भारतीय अधिकारीसँग नेपाली अधिकारीले गरेको छलफलको समाचार छापेको छ । त्यस्तै अङ्ग्रेजी भाषाको टेलिभिजन च्यानल सीजीटीएनले चिनियाँ प्रिमियर न्यूजिल्याण्ड भ्रमणलाई मात्र प्राथमिकताका साथ प्रसारण गरिरहेको छ ।