दुर्गमका विद्यालयका लागि सहयोग जुटाउन ‘हाईक फर नेपाल’
नेपालका दुर्गम गाउँका विद्यालयका लागि सहयोग जुटाउन ‘हामी उठ्ने छौं फाउन्डेसन’को आयोजनामा आगमी १५ जेठ (२८ मे) का दिन हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ मनाउने भएको छ ।
हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा फाउन्डेसनले पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिदै पोस्टर र यू–ट्यूब भिडियो सार्वजनिक गरेको छ । फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङ र महावाणिज्यदूत कमल प्रसाद भट्टराईले कार्यक्रमको पोष्टर र यूट्यूब प्रोमोसन भिडियो सार्वजनिक गरेका हुन ।
कार्यक्रमबाट संकलन हुने रकम नेपालको दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा लगानी गरिने जानकारी दिइएको छ । महावाणिज्यदूत भट्टराईले नेपालीहरुमा एकता कायम गर्न आयोजना गरिन लागेको कार्यक्रममा महावाणिज्यदूतावास सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरे । ‘एभरेष्ट डे’मार्फत विदेशीहरु माझ नेपालको पर्यटन प्रर्वद्धन गर्न महावाणिज्यदूतावासले भूमिका निर्वाह गर्ने उनले बताए ।
‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माण गर्ने उद्देश्यले सुरुवात भएको थियो । ‘एक नेपाली जो जहा“ भएपनि’ भन्ने नाराका साथ हङकङबाटै सुरु भएको हो । अहिले ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको छ ।
भूकम्पछि नेपालको पर्यटन प्रर्वद्धन गर्न हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) गरिएको थियो । यसवर्ष १५ जेठ (२८ मे) का दिन लायन रक कन्ट्री पार्कबाट सुरु हुने हाइकिङ करिब ७ किलोमिटरको हुनेछ । सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित हुनेछ ।
कार्यक्रममा अभिनेत्री एवं सगरमाथा आरोही निशा अधिकारीले आरोहण अनुभव सुनाउने छिन् । गतवर्ष कीर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ् शेर्पा र १४ वटा गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागाई सहभागी थिए ।
हङकङ नेपाली महावाणिज्यदूतावास, नेपाल वायुसेवा निगम, गैरआवासीय नेपाली संघ, नेपाल च्याम्बर अफ कर्मस, नेपाली महिला संघ, हङकङ नेपलिज् तेक्वान्दो एसोसियसन, सहारा क्लब, एचडीडी स्टुडियो सहयोगी रहेका छन् ।