स्वदेशी पर्यवेक्षकले मात्रै निर्वाचन पर्यवेक्षण गर्न पाउने
३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वदेशी पर्यवेक्षकले मात्रै निर्वाचनको पर्यवेक्षण गर्न पाउने भएका छन् ।
स्वदेशी संस्था र स्वदेशी पर्यवेक्षकलाई मात्रै निर्वाचन आयोगले पर्यवेक्षकका लागि निवेदन दिन माग गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण नीति, आचारसंहिता र निर्देशिका जारी गरेर स्वदेशी संस्था र स्वदेशी पर्यवेक्षकबाट मात्रै सहभागीको लागि निवेदन माग गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार “आयोगले तोकेको निश्चित प्रक्रिया पूरा गर्न सक्ने स्वदेशी संस्था र स्वदेशी पर्यवेक्षकलाई मात्रै निर्वाचन पर्यवेक्षणको अनुमति दिइनेछ ।”
त्यस्तै पर्यवेक्षक खटाउन इच्छुक एक संस्थाले कम्तीमा १०० पर्यवेक्षक खटाउनुपर्ने आयोग प्रवक्ता शर्माले जानकारी दिए ।
शहरी इलाका वा निश्चित क्षेत्रमा मात्रै पर्यवेक्षक खटाउन चाहने संस्थालाई अनुमति नदिइने आयाेगले जनाएको छ ।
त्यस्तै कुनै राजनीतिक दलमा आबद्ध नभएको व्यक्ति र संस्था मात्रै पर्यवेक्षणका लागि योग्य हुनेछ भने पर्यवेक्षणमा खटिनुअघि निर्वाचन आयोगबाट अनिवार्य सपथ ग्रहण समेत गर्नुपर्नेछ ।