उच्चस्तरीय छानबिन टोली महोत्तरीमा
पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी पुगेको छ ।
तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोग १२ चैतमा तराई पुगेको हो । टोलीले १३ चैतदेखि महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी सङ्कलनका काम सुरु गरेको जनाएको छ ।
संविधान जारी हुनुपूर्व र जारी भएपछि मधेस तथा थरुहटमा भएका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लालसहित आयोगका सदस्य सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारी अहिले महोत्तरी पुगेका हुन ।
स्थलगत निरीक्षण १४ चैतसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अध्ययन, प्रमाण तथा उजुरी सङ्कलन एवम् सरोकारवालासँग छलफल गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताए ।
आयोगका अध्यक्ष लालका अनुसार आयोगमा अहिलेसम्म एक हजार ३०० उजुरी दर्ता भइसकेका छन् । सयौँ उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उनले बताए ।
अन्तरक्रिया सहभागी शहीद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेताले आयोगको कामकाजबारे प्रश्न उठाएका थिए । दोषीमाथि कारबाही हुनुपर्ने माग पीडित परिवारले राखेका थिए । रासस