चीनको विकासले नेपाललाई पनि सहयोग पुग्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
बेइजिङस्थित नेपाली दूतावासले १२ चैत साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति सराहना व्यक्त गरेका छन् ।
बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले दुई बर्ष अगाडी नेपालमा आएको विनाशकारी भूकम्पपछि चीनले तत्कालै गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको बताए ।
“हाम्रो सम्बन्ध अटुट रहिआएको छ, हाम्रो सम्बन्ध पञ्चशीलको सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा कायम रहिआएको छ”– प्रम दाहालले भने । आकार र अर्थतन्त्रमा साना ठूला भएपनि चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उनको भनाइ थियो ।