चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता
चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।
रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदाइ गरेका थिए ।
रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका थिए । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग पनि उनले द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गरे।
रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको र छिमेकी मित्रराष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि गर्न नदिने विश्वास दिलाएका थिए ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री र जनरल चाङबीच भएको भेटवार्तामा दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको हो । यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको रक्षा मन्त्रालयले जनाएको छ । रासस