एनसेलविरुद्ध अनेरास्ववियु
अनेरास्ववियुले नेकपा एमालेका नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिरेको भन्दै ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ ।
अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको सचिव आरसी लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार बैठकले आइतबार अर्थमन्त्री र लेखा समितिका सभापतिलाई कर तिराउनका लागि दबाब दिन ज्ञापनपत्र बुझाउने र सोमबार देशभरि विरोध सभा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले समयमै विद्यालयस्तरको पाठ्यपुस्तक विद्यार्थीका हातमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । रासस