एमालेले तोक्यो उम्मेदवारको मापदण्ड
नेकपा एमालेको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उठ्ने उम्मेदवारको मापदण्ड तोकेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले मापदण्ड तोकेको हो । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अनुशासित, पार्टीप्रति प्रतिबद्ध र जनताकाबीच लोकप्रिय नेता उम्मेदवार छनौटको पहिलो प्राथमितामा पर्नेछन् । त्यस्तै उम्मेदवार छनौट गर्दा स्थानीय विकासमा दख्खल भएको, कुनै कारबाहीमा नपरेको र समावेशी हुनुपर्ने बैठकले निर्णय गरेको छ ।
सचिव भट्टराईले भने– “वडा अध्यक्ष र सदस्यको अन्तिम निर्णय जिल्ला कमिटीले गर्नेछ । त्यस्तै नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको छनौट जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्नेछ ।”
भट्टराईका अनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको छनौट भने केन्द्रले नै गर्नेछ ।