चरा चिनाउने गोजी पुस्तक: ‘अ पकेट फोटो गाइड टु द बर्ड्स अफ नेपाल’
चरा मन नपर्ने को होला र ! चरा मन पराए पनि घर वरपर देखिने भंगेरा, परेवा, काग, गौंथली, सुगाजस्ता केही चराबाहेक अन्य चराहरु चिन्न हामीमध्ये धेरैलाई गाह्रै होला ।
हो, चरा मन पराउने तर चरा चिन्न खोज्दाखोज्दै पनि नसकेका धेरैका लागि गोजीमा राख्न मिल्ने फोटोसहितको पुस्तक प्रकाशित भएको छ, प्रज्वल प्रधानले लेखेको ‘अ पकेट फोटो गाइड टु द बर्ड्स अफ नेपाल’ ।
यो पुस्तकको आज एक कार्यक्रमकाबीच ललितपुरको यलमाया केन्द्रमा विमोचन गरिएको छ ।
एकजना बाहेक सबै नेपाली फोटोग्राफरले खिचेका तस्वीरहरु रहेको पुस्तकमा चराबारे छोटो जानकारीसहित वैज्ञानिक नाम, नेपाली नाम, आवाज, बासस्थान, चारो, तस्वीर विवरण र आईयूसीएन स्टाटस उल्लेख गरिएको छ ।
एउटा पृष्ठमा एउटा चराको सुन्दर तस्वीरसहित जानकारी उल्लेख गरिएको यो पुस्तकले चराबारे चासो बढाइदिन्छ । पुस्तकमा नेपालमा पाइनेमध्येका २५२ प्रजातिका चराबारे जानकारी दिइएको छ ।
‘बर्ड वाचर’, हाइकिङ/ट्रेकिङमा जानेहरु, विद्यार्थी, पर्यटकका लागि यो पुस्तक उपयोगी हुनसक्छ भने किशोर–किशोरीलाई चरा चिनाउनका लागि पनि ।
पछिल्लो समय नेपाली युवाहरुमा हाइकिङको प्रचलन बढेको छ । हाइकिङ जाँदा यो पुस्तक पनि सँगै लगे चरा चिन्न र हाइकिङलाई थप रोमाञ्चक बनाउन सहयोग पुग्ने छ ।
नेपाल पंक्षी संरक्षण संघका अनुसार नेपालमा ८७६ प्रजातिका चरा पाइन्छन् । विश्वमै करिब १० हजार ५०० प्रजातिका चरा पत्ता लागिसकेको अन्तर्राष्ट्रिय पंक्षी विशेषज्ञ युनियनले उल्लेख गरेको छ ।
विशाल भूगोल भएका छिमेकी देशहरु चीन र भारतमा त्यहाँको सरकारी तथ्याङ्क अनुसार क्रमशः करिब १ हजार ३१४ र १ हजार २६६ प्रजातिका चरा पाइन्छन् । तर भारतभन्दा २२ गुणा सानो भूगोल भएकोे नेपालमा मात्रै करिब ८७६ प्रजातिका चरा पाइन्छन् । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जभित्रै एक दिनमा १०० प्रजातिका चरा भेट्टाउन सकिन्छ ।
सानो भूगोलमै धेरै प्रजातिका चरा पाइने भएकाले विश्वकै ‘बर्ड वाचर’हरुका लागि नेपाल अत्यन्तै रुचाइएको ठाउँ हो ।
“यति हुँदाहुँदै पनि नेपालमा पाइने चराबारे सजिलै र रमाइलोसँग जान्न सकिने पुस्तकको अभाव थियो,” लेखक प्रधान भन्छन, “म आफैँ चराको पछि लागेर लामो समय विताइसकेको हुँदा यो किताब प्रकाशन गरेको हुँ ।” उनले नेपाल आउने पर्यटकहरुका लागि पनि यो पुस्तक अत्यन्तै उपयोगी हुने बताए ।
कार्यक्रममा पंक्षीविद हरिशरण डंगोल र शंकर तिवारीलाई सम्मान गरिएको थियो भने एक साताअघि निधन भएका चरा–चित्रकार हिरालाल डंगोलप्रति सम्मान प्रकट गरिएको थियो ।