समानुपातिकतर्फ ३ प्रतिशत मत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई मात्रै राष्ट्रिय दलको मान्यता
संसदको राज्य व्यवस्था समितिले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई राष्ट्रिय दलको मान्यता दिने प्रस्ताव पारित गरेको छ ।
यसअघि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको थियो ।
यो व्यवस्था अनुसार कुनै पनि दलले समानुपातिक सांसद पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत पाउनुपर्छ । यद्यपी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा १ सिट जित्नै पर्नेछ ।
यदि कुनै दलले समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्यायो तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुनेछैन ।
कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले गरेको यो निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका थिए ।
निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड प्रस्ताव गरेको थियो । तर, साना दलहरुको विरोधका कारण निर्वाचन सम्वन्धी अन्य विधेयक पास भएपनि यो राज्य व्यवस्थामा नै अड्किएको थियो ।
अब यो विषय राज्य व्यवस्थाको पूर्ण समितिले पास गरी व्यवस्थापिका संसदमा पठाउनुपर्नेछ ।