सार्वजनिक यायतायात सम्बन्धी गैर सरकारी विधेयक दर्ता गरिने
सरकारले ल्याउन लागेको यातायात सम्बन्धी विधेयक व्यवसायीहरुको हितमा संसोधन भएको जनाउँदै सरोकारवालाहरुले सार्वजनिक यातायात सम्बन्धी गैर सरकारी विधेयक संसदमा दर्ता गरिने बताएका छन् ।
‘बस दुर्घटना निवारणका उपाय’ सम्बन्धी ५ भदौमा ललितपुरको यलमाया केन्द्रमा आयोजित छलफल कार्यक्रमका सहभागी सांसद, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा विज्ञहरुले गैर सरकारी विधेयक दर्र्ता गर्नु पर्नेमा जोड दिएका हुन ।
‘‘सिन्डिकेटको अन्त्य र सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउन सरकारले ल्याएको विधेयकले काम गर्दैन, अब प्राइभेट बिल लग्नु पर्छ’’ छलफलमा सहभागी सांसद रविन्द्र अधिकारीले भने ।
उनले गैर सरकारी विधेयक संसदमा दर्ता गर्न आफू तयार रहेको र त्यसका लागि सांसदहरुको सहभागिता जुटाउने बताए ।
कार्यक्रममा बोल्दै पूर्व मुख्य सचिव लिलामणि पौडेलले सडक दुर्घटना हुनुमा सडक डिजाइन गर्ने इन्जिनियरदेखि चालकसम्म जसको गल्ती हो, त्यसलाई कारवाही गर्न सक्ने गरी कानून बनाउन पर्ने बताए ।
‘प्राइभेट बिल तयार गर्न वकिलहरुसँग कुराकानी गरिरहेको छु’’ उनले भने । सडक दुर्घटनामा जसको गल्ती हो त्यसलाई ‘हत्या’ गरे सरह कारवाही गरिनु पर्ने उनको धारणा छ ।
छलफलमा सहभागी महानगरीय ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले सिन्डिकेट अन्त्य नहुदासम्म सवारी दुर्घटनामा कमी नआउने बताए ।
कार्यक्रममा प्रा.सुर्यराज आचार्य, यातायात मन्त्रालयका पूर्व सचिव तुलसी घिमिरे, यातायत व्यवस्था विभागका पूर्व डीजी शरद पौडेल, प्रा.डा बुलन्द थापा लगायतले सार्वजनिक यातायातलाई सुरक्षित बनाउनु पर्नेमा जोड दिएका थिए ।