चितुवाको आक्रमणवाट बालिकाको मृत्यु
बैतडीको तल्लोस्वराडमा ६ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी छोरी चञ्चला चन्दको मृत्यु भएको हो ।
आँगनमा खेलिरहेका बेला ४ भदौ साँझ चितुवाले आक्रमण गरेको स्थानीय वीरेन्द्र महताले जानकारी दिए ।
आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा राति १० बजे घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा शव भेटिएको थियो । बालिका स्थानीय गङ्गेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् ।
प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा एक वर्ष अघि चितुवाको आक्रमणबाट २० जनाभन्दा बढीको मृत्यु भएको थियो । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीको सहयोगमा स्थानीय शिाकारीले चितुवा मारेपछि राहत मिलेको थियो ।