प्लान इन्टरनेशनल नेपालको कार्यक्षेत्र विस्तार
बालअधिकारको क्षेत्रमा काम गर्दै आएको प्लान इन्टरनेशनल नेपालले लैंगिक हिंसा, किशोरी तथा महिलाको नेतृत्व विकास, लैंगिक समानता, समावेशी तथा लैंगिकमैत्री शिक्षा जस्ता क्षेत्रमा पनि काम गर्ने भएको छ । ८० औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा ६ चैतमा ललितपुरमा आयोजित कार्यक्रममा प्लान इन्टरनेशनलका कन्टि डाईरेक्टर स्भेन कोपेन्स्ले पाँच वर्षे कार्यनीतिबारे जानकारी दिँदै बालअधिकार र समानताका लागि थप साधनस्रोत सहित काम गर्ने जानकारी दिएका हुन । १९३७ मा स्पेनमा स्थापित प्लानले ७ चैतमा ८० औं वार्षिक उत्सव मनाउँदैछ ।
मातृ तथा नवजात शिशु स्वास्थ्य, विपद्मा बाल संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई र स्वच्छता जस्ता क्षेत्रमा पनि आफूहरुले काम गर्दै आएको स्भेन कोपेन्स्ले बताए । उनका अनुसार प्लानले ४५ जिल्लामा विपद्मा जीवकोपार्जन, आर्थिक समृद्धि जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।
२०७२ बैशाखको विनासकारी भूकम्पमा २ लाख ८७ हजार ८४७ जनालाई आकस्मिक आवास सामग्री, जस्तापाता, जाडोबाट बच्ने सामग्री प्रदान गरिएको प्लान इन्टरनेशनल नेपालका प्रोग्राम सर्पोट म्यानेजर शुभाकर वैद्यले जानकारी दिए । सहयोग प्राप्त गरेका मध्ये एक लाख १७ हजार २३० बालबालिका थिए ।
प्लानले नेपालमा सन् १९७८ देखि सरकार, गैरसरकारी संस्था र समुदायमा आधारित विभिन्न संघसंस्थासँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।