प्रदूषित अन्तरिक्ष
वैज्ञानिक अनुसन्धान र स्वार्थका नाममा बढेको अन्तरिक्ष यात्रा सिर्जित प्रदूषणले पृथ्वी नै संकटमा पार्दैछ।
पश्चिम अमेरिकी शहर युटाको आकाशमा १२ साउनमा अकस्मात् प्रकाशको झिल्का देखियो। यो चट्याङभन्दा फरक र लामो थियो।
अन्तरिक्ष सम्बन्धी स्वाभाविक रूपमा तेस्रो विश्वभन्दा बढी नै चासो भएका अमेरिकीलाई त्यस घटनाले कौतुहल बनायो। शायद नेपालमा हामी त्यस्तो झिल्को देखिहाले केही समय रनभुल्लमा पर्छौं, कहालिन्छौं अनि विस्तारै बिर्सन्छौं। तर, अमेरिकीहरू भने कारण खोज्छन्।
नभन्दै झिल्काको रहस्य धेरै समय रहेन। त्यो झिल्को गत जूनमा चीनले अन्तरिक्षमा छाडेको एउटा यानको टुक्रा रहेछ, जुन पृथ्वीको वायुमण्डलमा खस्दाको चापले चहकिलो भएर बलेको रहेछ। अन्तरिक्ष यानको मुख्य हिस्सा जले पनि केही स–साना टुक्रा भने पृथ्वीको सतहसम्मै आइपुगे। तर, यो झिल्को कसैको घर, गाडी वा मान्छेमा बज्रिएको भए? त्रासको कुरा यही हो।
युटाको यो घटनापछि अन्तरिक्ष प्रदूषण (स्पेस जंक) मुद्दा फेरि ताजा भएका छन्।
उपग्रहको भीड
अन्तरिक्ष प्रदूषण बुझ्नुअघि अन्तरिक्षको संसार थाहा पाउनु आवश्यक छ। भू–समकालिक कक्ष (जियो–सिङ्क्रोसन अर्बिट) भनेको पृथ्वीमाथिको त्यो स्थानलाई भनिन्छ, जहाँ राखिएको कुनै पनि वस्तु, जस्तै उपग्रह (स्याटेलाइट) लाई पृथ्वीको फन्को मार्न झन्डै २४ घण्टा अर्थात् एक दिन लाग्छ। पृथ्वी पनि २४ घण्टामा एक फन्को घुम्दछ, जसका कारण दिन–रात हुन्छ। दुवैको फन्को मार्ने अवधि बराबरी भएकोले सिङ्क्रोनस वा समकालिक भनिएको हो। समकालिक भएकैले भू–समकालिक कक्षमा रहेको उपग्रह जमीनबाट हेर्दा एकै ठाउँमा ठम्म बसिरहेको देखिन्छ।
भू–समकालीन कक्षमा संचार सम्बन्धी उपग्रहहरू राखिन्छ। मोबाइल वा गाडीमा स्थान बताउने जीपीएस बोक्ने उपग्रहलाई चाहिं आधा भू–समकालिक कक्षमा राखिन्छ। आधा भू–समकालिक कक्षमा राखिएको उपग्रहले एक दिनमा दुई पटक फन्को मार्छ। यो कक्ष हामीभन्दा झ्न्डै ३६ हजार कि.मि. माथि छ। जस्तो कि, चन्द्रमा हामीभन्दा ३.८ लाख कि.मि. पर छ, उसलाई पृथ्वी वरिपरि फन्को मार्न करीब २७ दिन लाग्छ।
हामीभन्दा चारसय किमि माथि आकाशमा मानव सभ्यताले हालसम्म विकास गरेमध्येकै जटिल र अनुपम इन्जिनियरिङ परियोजना अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) अवस्थित छ। १.५ खर्ब डलर खर्चमा १३ वर्ष लगाएर बनाइएको यो केन्द्र ४५० टनको छ।
यो केन्द्रले एक दिनमा करीब १६ पटक पृथ्वीको फन्को मार्छ। फूटबल मैदान जत्रो यो केन्द्रमा अहिले ६ जना अन्तरिक्ष यात्रु बसोबास गर्छन्। जीव विज्ञान, चिकित्साविज्ञान, भौतिकशास्त्र, मौसम सम्बन्धी अनुसन्धान र प्रयोगका लागि यो केन्द्र निर्माण गरिएको हो। रसियन सोयुज रकेटको सहायताले केन्द्रमा रहेकाहरूलाई आवश्यक खानेकुरालगायतका सामग्री पुर्याइन्छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाहेक संचार, मौसम र रक्षा सम्बन्धित झन्डै एक हजार उपग्रह यतिबेला पृथ्वीलाई परिक्रमा गरिरहेका छन्। ती उपग्रहहरूले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। अमेरिकी अन्तरिक्ष सञ्जालले उपग्रहहरूसँगै पृथ्वी परिक्रमा गर्ने १० सेन्टिमिटरभन्दा ठूला करीब २१ हजार वस्तु निगरानीमा राखेको छ।
त्यसमध्ये उपग्रह बाहेक सबै अन्तरिक्षका मलवा अर्थात् कवाड हुन्, जसले अन्तरिक्ष प्रदूषित बनाइरहेको छ। पृथ्वी नजिकको तल्लो कक्षमा त अझ् १० सेन्टिमिटर भन्दा पनि साना करीब पचास हजार यस्ता कवाड थुप्रिएका छन्, जसलाई पत्ता लगाउनै सकिन्न।
अर्को खतरा
अन्तरिक्षसम्म ती जम्मै कवाड पुर्याउने अरू कोही नभई मानिस नै हुन्। कति कवाडहरू चाहिं पुराना उपग्रहहरू आपसमा ठोक्किएर बनेका हुन्। कवाड युद्धसामग्री, रकेटका मोर्टरदेखि सामान्य जस्ता लाग्ने पेन्टका टुक्राहरू जस्ता अनेकौं किसिमका हुन्छन्। पृथ्वीको गुरुत्वाकर्षण र उसको घुमाइको संयोजनले गर्दा ती कवाड लामो समय पृथ्वी वरिपरि अनियन्त्रित घुमिरहन्छन्। र, सडकमा छाडा छाडिएका जनावरले ट्राफिक जाम बढाए जस्तै अवरोध गरिरहन्छन्।
फरक यति हो कि अनियन्त्रित अन्तरिक्ष कवाडहरू प्रतिघण्टा २८ हजार किमीका दरले यताउता हँुइकिराखेका हुन्छन्। तिनलाई 'ट्रयाक' गरिएन भने एकनिमेषमै महँगो उपग्रहहरू छेडेर पार जान्छन्। त्यसबाट उपग्रहमा क्षति पुग्ने मात्र होइन, 'चेन रियाक्सन' भएर थप नयाँ कवाडहरू पनि उत्पन्न हुनसक्छन्।
करीब पचास वर्षअघि प्रथम पटक स्पुत्निक १ ले अन्तरिक्ष यात्रा शुरू गरेको थियो। तर, यात्राको चाप यति धेरै बढ्यो कि अन्तरिक्ष नै प्रदूषित भइसकेको छ। के पनि भनिन्छ भने, हरेक दिन कम्तीमा एउटा यस्ता कवाड आफै पृथ्वीतिर खस्छन् र हावाको चापका कारण जलेर खरानी हुन्छन्। पृथ्वीमाथि वरिपरि घुम्ने ती सामग्रीहरू हटाउन हालसम्म खासै प्रयास गरिएको छैन। तर, यसबारे अनुसन्धान भने भइरहेका छन्। अन्तरिक्ष प्रदूषण नियन्त्रण गर्नु विज्ञानकै सामु चुनौती बनेको छ।
अन्तरिक्ष क्षेत्रको कित्ताकाट र भोगचलन अन्तर्राष्ट्रिय कानूनभन्दा पनि सम्झ्ौताका भरमा चलिरहेका छन्। यसर्थ पनि प्रदूषण नियन्त्रणबारे बेलैमा सोचिनुपर्छ। नत्र भारत, ब्राजिल जस्ता मुलुकले अन्तरिक्ष यात्रामा देखाएको चासोबाट उत्साहभन्दा बढी प्रदूषणको चिन्ता थपिंदै जानेछ। र, यो अँध्यारो भविष्यको संकेत हो।